दिल्लीबाट सन्दीपले १ नम्बरको जर्सीमा खेल्ने

आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बिहीबार काठमाडौँमा सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी हस्तान्तरण गर्दै दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवा । तस्बिर- रोशन सापकोटा/रासस

काठमाडौं–क्रिकेटको सबैभन्दा महंगोमध्येको एक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयर डेभिल्सले सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी दिएको छ । बिहीबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा एक कार्यक्रम गरी दिल्लीले उनलाई उक्त जर्सी दिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशरकुमार विष्ट र दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवाले संयुक्त रुपमा सन्दीपलाई १ नम्बरको जर्सी हस्तान्तरण गरेका हुन् ।

सन्दीप स्वयंको रोजाइ जर्सी नं. २५ हो । उनी नेपाली टिममा सोही जर्सी लगाएर खेल्ने गर्छन् । उक्त जर्सी अरु खेलाडीले नै लिइसकेकाले सन्दीपलाई १ नम्बरको जर्सी दिइएको हो ।

कार्यक्रममा बोल्दै दिल्लीका सिइओले सन्दीपलाई आफूहरुले एक नम्बर नै भएको हेर्न चाहेको बताए । उनले प्लेइङ ११ मा पर्ने नपर्नेबारेमा सोधिएको प्रश्नमा भने त्यसको निर्णय कप्तान र प्रशिक्षकले गर्ने बताए ।

दुवाले सन्दीपलाई आफूहरुले एक वर्षदेखि पछ्याइरहेको र उनको बलिङबाट प्रभावित भएर आइपिएल टिममा अनुबन्ध गरेको बताए ।

सन्दीपले आफूले जतिसक्दो राम्रो गर्ने प्रयास गर्ने र टिमको जितमा नै आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए । उनी आइपिएलमा अनुबन्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री