लन्डन काठमाडौं सिधा उडानको योजना


लन्डन । लन्डन काठमाडौं सिधा उडान नहुंदा यात्रुहरुले खेप्नु परेको सास्ती अनि बढ्दो खर्च अन्त्य हुने सम्भावना बढेको छ । अबको तीन महिनापछि दुइटा ठूला (वाइड बडी ए ३३०) विमान ल्याउने तयारी गरिरहेको नेपाल वायुसेवा निगमले अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो । लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ ।’ पर्यटनका लागि न्युयोर्क नपुगी नहुने सुनाउँदै कंसाकारले थपे, ‘सिड्नी, जापान, कोरिया र युरोपियन सहरमा जानैपर्छ। इथोपियन एयरलाइन्स क्यानडा र अमेरिकाका ३/४ वटा सहरमा जान सक्छ भने हामी किन नसक्नु? हाम्रो भविष्यको योजना यही हो ।’

 न्युयोर्कसम्म पुग्ने योजनामा उनले काठमाडौंदेखि लुक्लाको उडान तुलनामा न्युयोर्कको उडान सजिलो हुने बताए । ‘यहीँ हुनुहुन्छ हाम्रा क्याप्टेनसाप, सोध्नुहोस् लुक्ला उड्नुभन्दा न्युयोर्क सजिलो छ ।’
जहाज नभएकै कारण निगम खुम्चिएको जनाउँदै महाप्रबन्धकले आगामी वर्ष कम्तीमा दुइटा विमान थप्दै लैजाने महत्त्वाकांक्षी योजना सुनाए । २०४६ साल ताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो। मुलुकभित्रका ३९ वटा विमानस्थलमा यसको एकाधिकार थियो। तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यमा मात्रै उडान हुँदै आएको छ । आन्तरिकतर्फ २३ वटा गन्तव्यमा निगमले उडान भर्दै आएको छ। तर, यीमध्ये अधिकांश दुर्गम भेगका नियमित उडान हुँदैनन्।
हालको कार्यतालिकाअनुसार साउन मसान्तभित्र निगमले दुइटा वाइडबडी नेपाल ल्याइसक्नेछ। यी विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन निगमले निमित्त महाप्रबन्धक गणेश चन्दको नेतृत्वमा ८ जना अधिकारीहरूलाई चैत २८ गते फ्रान्सको टुलुज पठाउँदै छ। उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी छन् भने पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेल रहनेछन्।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए ३२० र एउटा बोइङ ७५७ छन्। साढे २९ वर्ष पुरानो बोइङलाई पनि निगमले बिक्री गर्ने भएको छ। निगमले अर्को बोइङ गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई बिक्री गरिसकेको छ। तर, स्वामित्व हस्तान्तरण भइसकेको छैन। अध्यक्ष भट्टलाई निगमले साढे ३० वर्ष पुरानो विमान १५ करोड हाराहारीमा बिक्री गरेको हो। वाइडबडी विमान ल्याइएपछि निगमले अन्तर्राष्ट्रिय हवाई यातायातको व्यापार १० प्रतिशतबाट बढेर १७ हाराहारी पुग्ने दाबी गरेको छ।
अब निगमलाई अन्तर्राष्ट्रियस्तरकै संस्थामा बदल्न नीतिअनुरूप आउँदो १८ महिनाभित्र थप दुइटा एयरबस ए ३२०–२०० र आन्तरिक उडानका लागि निगमले थप ६ वटा टिवनअटर खरिद गर्ने योजना सार्वजनिक गरेको छ। कंसाकारले खरिद प्रक्रिया पनि सुरु भइसकेको बताए। यसै अवधिमा पुराना जहाज प्रतिस्थापन गरिनेछ। पुराना विमानमा अन्तर्राष्ट्रियतर्फ एउटा बोइङ रहेको छ भने आन्तरिकतर्फ तीनवटा पुराना क्यानेडियन टिवनअटर विमान छन्।
निगमले आर्थिक वर्ष २०७३/७४ मा ३३ सय ५८ वटा र आन्तरिकमा ४३ सय ५८ वटा उडान गरेको थियो। अन्तर्राष्ट्रियतर्फ त्यस वर्ष उपलब्ध कुल ५ लाख ७३ हजार सिटमध्ये ४ लाख २२ हजार सिट बिक्री गरेको थियो। त्यस्तै आन्तरिकतर्फ उपलब्ध १ लाख ४ हजार सिटमध्ये ६९ हजार सिट बिक्री गरेको थियो । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री