विश्व साहित्य महासंघ साउथ यूके अध्यक्षमा जानुका


लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । गत ३१ मार्च २०१८ का दिन सम्पन्न अधिवेशनले उपाध्यक्षमा श्रीमति करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा बिसी राई, लाहाङ चेम्जोङलाई चयन गरेको छ । त्यसैगरि, सल्लाहकारहरुमा विश्वासदीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारी साईंला र शिवकुमार राई चयन भएका छन् भने निवर्तमान अध्यक्ष विजय हितानलाई संरक्षक बनाइएको छ ।

पहिलो चरणमा स्व. इन्द्रबहादुर राईप्रति श्रद्धाञ्जलि सभा, शाखाको आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन पारित भए लगतै अध्यक्ष विजय हितानले आफ्नो नेतृत्वको समिति विघटन भएको घोषणा गर्दै निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । निर्वाचन मण्डलका संयोजक गणेश पुन, सुरेन्द्र इङनाम र विश्वास दीप तिगेलाले उम्मेदवारी माथि छलफल गरि सर्वसम्मतबाट नयां नेतृत्व घोषणा गरे ।

नयां समिति घोषणा लगत्तै साहित्य महासंघ केन्द्रका अध्यक्ष समेत रहेका तिगेलाले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । साथै उनले यस वर्षको उत्कृष्ट शाखा बन्न सफल भएकोमा केन्द्रको तर्फबाट वधाई पनि दिए । नेतृत्व लिएपछि अध्यक्ष राई र महासचिव थापाले आआफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।

पहिलो चरणको कार्यक्रमको अन्त्यमा कवयत्री श्रीमति करिष्मा घमको तेश्रो कृति ‘दुई किनारा’ कविता संग्रहको केन्द्रीय अध्यक्ष तिगेला, निवर्तमान शाखा अध्यक्ष हितान र स्रष्टा स्वयंले विमोचन गरे ।

दोश्रो चरणको कार्यक्रम यस वर्षको ‘अर्थ आवर’ उत्सव थियो । उक्त अवसरमा वातावरण सम्बन्धि सृजनाहरु वाचन गरिए । 
श्रष्टाहरु लाहाङ चेम्जोङ, घनबहादुर थापा, बासु शर्मा, विश्वासदीप तिगेला, थिर थापा, जानुका राई, करिष्मा घम, दिनेश पौडयाल, शंकर घिमिरे, दिलबहादुर पालुङवा, बिसी राई, गणेश पुन, गोपाल शाही पथिक, औतारी साईंला, विजय हितान लगायतले सिर्जनाहरु वाचन गरेका थिए ।

सन् २०१६ को अर्थ आवरको अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूके शाखा गठन भएको थियो । दुई वर्षको अवधिमा २० भन्दा बढि गतिविधि आयोजना गरेका कारण विभिन्न १९ मुलुकमा विस्तारित शाखा मध्ये यो यस वर्षको उत्कृष्ट शाखा भएको छ ।

यसैबीच, विश्व नेपाली साहित्य सम्मेलन आगामी ११ र १२ अगष्ट २०१८ का दिन यूकेमा हुने भएको छ । गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले दोस्रो विश्व नेपाली साहित्य सम्मेलन यूकेमा गर्ने निर्णय गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री