बेलायतमा नेपाली मोडलहरुले गरे क्याटवाक

लन्डन । बेलायतमा सौन्दर्य पेशामा आवद्ध महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा फेशन शोसहित मेक अप कम्पिटिसन गरेको छ ।

उक्त फेशन शोमा लन्डनस्थित डिजाइनर आर्च कलेक्सनकी अन्जली केसीले डिजाइन गरेका पोशाकहरु लगाएर मिस नेपाल यूके २०१७ का सातजना प्रतियोगीले क्याटवाक गरे ।

क्याजुअल, गाउन र ब्राइडल ड्रेस पहिरिएर तीन सिक्वेन्समा मोडलहरु रयाम्पमा उत्रिएका थिए । फेशन शोको कोरियोग्राफी माला गुरुङले गरेकी थिइन् ।

फेशन शोकी प्रमुख अतिथी थिइन् नेपालकी स्थापित 
सौन्दर्यवीज्ञ कमला श्रेष्ठ । विगत चार दशकदेखि यस क्षेत्रमा आवद्ध प्रोफेशनल ब्युटी असोसिएसन नेपालकी अध्यक्ष श्रेष्ठ यही फेशन शोका लागि बेलायत आएकी थिइन् । कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले बेलायतका नेपाली महिला सौन्दर्य व्यवसायीहरुले चुनौतिपूर्ण पेशालाई सहज ढंगले सञ्चालन गरेकामा खुशी लागेको बताइन् । ‘६ वर्ष अघि तदर्थ समितिका रुपमा म आफैंले जन्माएको 
संस्था संगठित भइरहेको थाहा पाउंदा खुशी लागेको छ’, श्रेष्ठले भनिन्, ‘ब्युटिसियन दिदी बहिनीहरु एकजुट र सक्रिय भएर लागेकामा म प्रसन्न छु । उनीहरुले विदेशको व्यस्तताबीच आफ्नो सीप र पेशालाई बचाइरहेको पाएं ।’

नेपाल उद्योग वाणिज्य महासंघकी सदस्य श्रेष्ठले नेपालमा सौन्दर्य व्यवसायलाई सरकारले उद्योगको मान्यता दिइसकेको बताउंदै सौन्दर्य विषय पाठयक्रममा समेत समावेश भएको जनाइन् । ‘शुरुमा यस पेशामा लाग्ने तीनजना मात्र थियौं हामी’, श्रेष्ठले सुनाइन्, ‘अहिले त नेपालमा करिब तीन लाख जना होलान् ।’

प्रोफेशनल ब्युटी एसोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेक अप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।

महासचिव धनु गुरुङले स्थानीय डिजाइनर र मोडलहरुलाई प्रोत्साहन एवं प्रवर्धन गर्न फेशन शो गरिएको जनाइन् । महासचिव गुरुङका भनाइमा बेलायतमा ब्युटी सलुन सञ्चालन गरिरहेका एसोसिएसनमा आवद्ध नेपाली महिला करिब तीन दर्जन छन् । बेलायतका नेपाली ब्युटिसियनहरुलाई एकजुट गराउने, ‘आइडिया सेयर’ र समस्या पर्दा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको पनि धनुले बताइन् ।

ब्युटी सलुन सञ्चालन नगरेका तर सौन्दर्यमा रुची भएका ‘
फ्रिल्यान्स न्यूकमर’ ७ जना युवतीले भाग लिएको मेकअप प्रतियोगितामा निक्की पाण्डे विनर बनिन् । उक्त प्रतियोगितामा कमला श्रेष्ठ, धरानकी भारती सुब्बा र प्रेक्ष्या बस्नेत निर्णायक थिए । प्रतियोगिताका विजेतालाई मुख्य प्रायोजक न्यू लक्ष्मी ज्वेलर्सले सुनका गरगहना उपहार प्रदान गरेको थियो ।

फेशन शोमा विशेष अतिथी एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुंवर थिइन् भने अतिथीहरुमा मिस नेपाल यूके आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायत सहभागी थिए ।

श्रद्धा गुरुङले सञ्चालन गरेको उक्त शोमा जेनी सुनुवारले आकर्षक नृत्य प्रस्तुत गरिन् भने सुलभ श्रेष्ठले कविता सुनाए । त्यसैगरि आशुतोष थापा, निराकार अधिकारी, रोनिस दर्नाल र प्रमोद थापा मगरको समूहले विभिन्न लाइभ गीत संगीत प्रस्तुत गरेको थियो ।

आयोजकले कलाकार, प्रायोजक र सहयोगीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । साउण्ड व्यवस्थापन हेम बिष्टले गरेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री