ब्रिटिश सांसदको ज्यान लिने गोर्खा सैनिकलाई जेल सजाय छुट

लन्डन । एक ब्रिटिश अदालतले लापरवाहीपूर्वक गाडी चलाई एक वयोवृद्ध अपांग ब्रिटिश सांसदको ज्यान लिएकोमा भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहराएको छ ।

ओल्ड बेली अदालतले अपांग व्यक्तिहरुले चलाउने मोविलिटी स्कुटरमा सवार ८७ वर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकोमा भूतपूर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहराएको हो । फेल्थाम वेष्ट लन्डन बस्ने ५६ वर्षीय पाण्डेलाई २४ साता लामो निलम्बित जेल सजाय पनि सुनाइएको छ ।

गत १६ नोभेम्बर २०१६ का दिन बेलुका ६ बजे लण्डनस्थित हाउस अफ लर्ड्सको कार्यालयबाहिर जेब्रा क्रस पार गर्न खोजीरहेका बेला पाण्डेले चलाएको लरीले लेबर पार्टीका सांसदले चलाएको मोविलिटी स्कुटरलाई ठक्कर दिएको थियो । उनको पछि अस्पतालमा उपचार गराउंदै गर्दा निधन भएको थियो ।

अदालतमा बयान दिंदै पाण्डेले त्यसबेला पानी परिरहेको र 
अंध्यारो भएकाले आफूले स्पष्टसंग बाटो नदेखेको बताए । अरु मानिसहरुले सडक पार गरिसकेपछि आफू अघि बढेको पनि उनले बताए ।

न्यायाधीश अनुजा धीर क्यूसीले भनिन् ‘तपाईंले चलाइरहेको मोटरको आकार र त्यसदिनको मौसमलाई हेरेर तपाईं अरु बढी सावधान हुनुपथ्र्यो । तर, तपाईंले त्यसो गर्नुभएन ।’ तर पाण्डेले सांच्चिकै पश्चाताप गरेकाले उनलाई निलम्बित सजाय दिइएको न्यायाधीशले बताइन् ।

पाण्डेको सवारी चालक अनुमतिपत्र तीन वर्षकालागि खारेज गरिएको छ र उनलाई २०० घन्टा अवैतनिक सामाजिक सेवा गर्न भनिएको छ ।

रोयल गोर्खा राइफल्समा दश वर्षसम्म सेवा गरेका पाण्डे सामान पुराएर फर्कंदा सो दुर्घटना भएको थियो । चालक पाण्डेले प्रहरीसंग त्यतिबेला अंध्यारो र अत्यधिक पानी दर्किरहेकाले आफूले बाटो नदेखेको बयान दिएका थिए ।

गरिब परिवारमा जन्मिएका भूतपूर्व गोर्खा पाण्डे 
आफ्ना सन्तानको उज्ववल भविष्यका लागि सन् २०१० मा ब्रिटेन आएका थिए ।

स्वर्गीय लर्ड टेलरका छोरा पल टेलरले आफ्ना पिताले मानिसहरुलाई मद्दत गर्न मन पराउने र जीवनभर अन्याय विरुद्ध 
संघर्ष गरेको बताएका थिए । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री