‘हयाप्पी डेज’ ले अन्ततः जुरायो रिलिज डेट, बैशाख १४ देखि नेपालभर

केही महिनाअघि बेलायतमा फिल्मको रेड कार्पेट प्रिमियर शो

लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ ले अन्ततः ‘रिलिज डेट’ जुराएको छ । गत माघ १२ गते नै रिलिज हुने तय भएपनि विभिन्न कारण रोकिएको हयाप्पी डेज अन्ततः बैशाख १४ गते (२७ अप्रिल) देखि नेपालभर प्रदर्शन हुन लागेको हो ।

बेलायत स्थायी बसोवास गर्ने मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्मको रेड कार्पेट प्रिमियर शो केही महिनाअघि बेलायतमा भइसकेको थियो ।

त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित ‘हयाप्पी डेज’ बेलायतको राजधानी लन्डन, स्कटल्याण्ड र वेल्समा करिब ९५ प्रतिशत छायांकन गरिएको फिल्म हो जसमा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरुको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ  । उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहां आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ । फिल्ममा प्रियंका, दयाहाङ, सन्जय गुप्ता, विक्की जोशी, 
रितेश चाम्स, मोनिका गुरुङ आदि कलाकारको पनि मुख्य अभिनय छ ।

लन्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बीपी खनाल, भवानी शर्मा, हिरल जोशी, निर्देशक चाम्स स्वयं र डा. अशोक बन्सालले फिल्म निर्माण गरेका हुन् ।

प्रस्तुतकर्ता वी पी खनालले नेपाली चलचित्रको गुणस्तर अभिवृद्धि र विकासका लागि चुनौति लिएर सम्पूर्ण छायांकन बेलायतमै गरिएको बताउंदै सिनेमा हेरिदिन अपिल गरेका छन् । उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको दावी निर्माण पक्षको छ ।

पछिल्लो समय मिलन चाम्स नेपाली चलचित्र उद्योगमा स्थापित भइरहेका छन् । उनी निर्देशित बेलायत र टर्कीमा समेत छायांकन गरिएको चलचित्र ‘लिलीबिली’ यही चैत्र ३० गते देखि देशभर प्रदर्शन हुने तयारीमा छ । चाम्सका यसअघि ‘बीर विक्रम’, ‘ब्लाइन्ड रक्स’ आदि फिल्मले पनि राम्रो चर्चा बटुलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री