डिपिएल उपाधिका लागि धनगढी र काठमाडौँ भिड्ने

धनगढीमा जारी डिपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार हुने फाइनल खेलमा काठमाडौँ गोल्डेन्सका क्याप्टेन ज्ञानेन्द्र मल्ल र टिम चौराहा धनगढीका सोमपाल कामी ट्रफीका साथ । तस्बिर- रोशन सापकोटा/रासस

कैलाली-धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।

बिहिबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको उक्त प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा गरयो । काठमाडौँका लागि सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । उनले १८ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले दुई तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक-एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पुरयाए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।

बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक-एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री