सिरिया आक्रमणको रुस, चीन र इरानद्वारा आलोचना

सैन्य आक्रमणपछि सिरियाली राजधानी दमासकसको आकाशमा देखिएको धुंवा र विस्फोट दृश्य । तस्विर- एपी

वासिङटन, संयुक्त राज्य अमेरिका, १ वैशाख – अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ ।

रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अबरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताउनुभयो ।

“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो । ‘हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ’, उहाँले थप्नुभयो ।

सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताउनुभयो ।

‘कारबाही एकदम ठीक, मजबुत र प्रभावकारी रहे’- म्याककेन्जीले बताउनुभयो । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिने उहाँले थप्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिरियामाथि मिसाइल आक्रमण गर्न अनुमति दिएकोबारे हवाइट हाउसमा सम्वोधन गर्दै । तस्विर- एएफपी

चीनद्वारा आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ । चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो ।

सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सबै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएको छ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ ।”

अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्य मान्यता उलंघन – रुस

मस्को, १ वैशाख – अमेरिकाले अन्तरराष्ट्रिय मूल्य मान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।

फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्य मान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताउनुभयो । अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गर्नुभयो ।

फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उहाँको भनाइ छ ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

सिरियाली सेना आफ्ना हतियार प्रदर्शनसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गर्दै । तस्विर- एपी

सिरियामा भएको आक्रमणलाई इरानद्वारा ‘अपराध’ को संज्ञा

तेहरान, १ वैशाख – इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’ को संज्ञा दिनुभएको छ । ‘म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्’- खमेनीले भन्नुभयो ।

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताएको उहाँको आधिकारीक वेवसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री