ओली प्रचण्ड वान टु वान वार्ता- एकता संयोजन समितिको बैठक बोलाइयो

दाहाल ओली । फाइल तस्वीर

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकताका विषयमा दुई नेताहरुबीच छलफल भएको बताइएको छ ।

पार्टी एकता प्रक्रिया अगाडि बढाउने विषयमा दुवै नेताबीच छलफल सकारात्मक रहेको बताइएको छ । यसअघि आइतबारका लागि तय गरिएको बैठक दाहाल ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे गएपछि सोमबार विहानका लागि सारिएको थियो ।

दाहाल सुकुटेबाट सिधै सोमबार अपरान्ह बालुवाटार पुगेका थिए । दुई नेताहरुबीच झण्डै एक घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । पछिल्लो समय एमाले र माओवादी पार्टी एकताका विषयमा विभिन्न संसयहरु मिडियामा ब्याप्त छन् ।

प्रधानमन्त्री ओली दक्षिण छिमेकी भारतबाट फर्केलगतै चैत २७ मा बस्ने भनिएको एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् । दुई नेताहरुबीच एकता संयोजनको बैठक मंगलबार बस्ने तय भएको छ ।

दुई पार्टीको कार्यदलले ९ बैशाखमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर पार्टी एकता गर्न सुझाव दिएको छ । उक्त सुझावलाई यसअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो ।

एमाले र माओवादीबीच पार्टी संगठनमा कसरी समायोजन गर्ने, जनयुद्ध शब्द प्रस्तावनामा राख्ने नराख्ने र चुनाव चिन्ह सुर्य राख्ने नराख्ने विषयमा कुरा मिलिसकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री