वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी समितिको बैठक । तस्वीर सौजन्य – प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, ३ वैशाख – नेकपा एमालेको आजको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ‘वैशाख ९’ मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुट्नुभएको थियो । उहाँले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निरक्यौल गर्नुपर्नेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री