उत्तर र दक्षिण कोरिया शिखर बैठकको तयारी

सोल, ४ वैशाख – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक मात्रामा तयारी गरिएको छ ।

यी दुई देशबीच विरलै हुन गरेको एउटा उच्चस्तरीय बैठक भने हालै सम्पन्न भएको छ । उक्त बैठकमा दुई देशका मन्त्रीस्तरीय अधिकारी सहभागी भएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने बताएपछि सो बैठकको तयारी थालिएको हो ।

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच गत महिना विभिन्न चरणमा बैठक भएका छन् ।

उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुरयाउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले उत्तर कोरिया र अमेरिकी वरिष्ठ अधिकारीसँग पनि भेट गरेका थिए ।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार गर्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।

गत फेब्रुअरी महिनामा दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डबीच यस किसिमको भेटवार्ता सुरु भएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार यी दुई देशका उच्चअधिकारी सम्मिलित शिखर बैठक यही अप्रिल महिनाको अन्त्यतिर गर्ने भनिएको थियो ।

त्यसैगरी अमेरिका र उत्तर कोरियाली नेताबीच पनि पहिलो पटक यसरी औपचारिक रुपमा भेटवार्ता हुने पनि बताइएको छ । उहाँहरुबीच पनि आगामी मे महिनामा यस्तो दुर्लभ भेट हुन लागेको समाचारमा जनाइएको छ ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी यसअघि नै गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री