प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मावि आज आयोजित बिद्यालय भर्ना अभियान कार्यक्रममा अभिभावक भएर विद्यालय भर्ना गराएका रुपा कुमारी खत्वे र पवन मरिक डोमसँग कुराकानी गर्नुहुँदै । तस्वीर – राजु विश्वकर्मा, रासस, लहान

लहान, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुरयाउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।

तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”

सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उहाँले भन्नुभयो – “बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।”

सोही अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गर्नुभयो । अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उहाँले मागसमेत गर्नुभयो ।

कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गर्नुभयो । यसैगरी, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पाँच जना र शिक्षा विभागका तारक धितालले १० जना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

गृहमन्त्री थापाबाट चेपाङ दलित बालबालिकाको अभिभावकत्व ग्रहण

चितवनको कालिका नगरपालिका–६ मा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन बुधबार उदघाटनपछि मन्तव्य व्यक्त गर्दै गृहमन्त्री रामबहादुर थापा । तस्वीर – नारायण अधिकारी, चितवन, रासस

चितवन, ५ वैशाख – गृहमन्त्री रामबहादुर थापाले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउनु भएको छ ।

शक्तिखोरस्थित चतुरमुखी माध्यामिक विद्यालयमा आज आयोजित कार्यक्रममा उहाँले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको हो । उहाँले स्थानीय शहनशीला चेपाङलाई कक्षा तीनमा र अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपांग दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराउनु भएको हो ।

सो क्रममा गृहमन्त्री थापाले बालबालिका भविश्यका कर्णदार भएकाले उच्च शिक्षा पढेर देशको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षप गरेरै भए पनि सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री