क्यानको संशोधित विधान पारित, निलम्बन फुकुवा हुने सम्भावना बढ्यो

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार काठमाडौँमा बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ ।

साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्देशनानुसार संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो ।

आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधान पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ ।

संशोधित विधानमा पुरानो कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सात जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । यसअघिको विधानमा उनीहरुले निशर्त भोट हाल्न र उम्मेदवार हुन पाउने व्यवस्था थियो ।

अब क्यानको निर्वाचन गराउनका लागि अनुगमन समिति गठन हुनेछ । सो समितिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । समितिमा आइसिसीबाट तीन, राखेप र निर्वाचित क्यानबाट एक-एक प्रतिनिधि सदस्य रहनेछन् ।

विधान पारितभएसँगै नेपाली क्रिकेटको विकास, विस्तारमा सहयोग पुग्ने तथा क्यानको निलम्वन पनि फुकुवा हुने सम्भावना बढेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

विधान पारित गरे नेपाल क्रिकेट संघमाथि गरिएको निलम्वन फुकुवा गर्ने आइसिसीले यसअघि नै जनाइसकेको छ ।

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए । क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी गरेको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समितिसमेत गठन गरेको थियो ।

निष्पक्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसिसीले विसं २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री