मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ, ७ वैशाख – मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छयाइएको छ ।

पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छयाउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छयाइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छयाउने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छयाइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छयाउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

सडकका मुख्य चोकमा ‘भल्भ च्याम्बर’ निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री