पुटिन ट्रम्पलाई भेट्न तयार

फाइल तस्विर- एपी

मस्को, रूस, ७ वैशाख – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । तर, मस्को अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश मन्त्रालयले बताएको छ ।

ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको बिषयलाई रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेश मन्त्रालयको वेवसाइटमा प्रकाशित एक अन्तवार्तामा बताउनुभएको छ । लाभरोभले भन्नुभयो, “अमेरिकाले निमन्त्रणाको बिषयलाई प्रष्ट रूपमा प्रस्तुत गरोस् ।”

ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताएको बिषय लाभरोभले स्मरण गर्नुभयो ।

क्रेमलिनका सहयोगी यूरी उसाकोभले यसै महिनाको शुरूमा मार्चपछि दुई राष्ट्रपतिको भेटका बिषयमा कुनै छलफल नभएको बताउनुभएको थियो ।

अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकावन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चित बनाइदिएको छ ।

रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास लाभरोभले बताउनुभएको छ ।

लाभरोभले भन्नुभयो, ‘ट्रम्पले ट्वीटरमा रूस र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि इच्छा व्यक्त गर्नुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री