गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

पाकिस्तानी प्रहरीहरु गृहमन्त्री इकबाल उपचारार्थ अस्पतालमा सुरक्षा दिंदै । तस्विर- एपी

इस्लामावाद, २४ वैशाख – पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उहाँ खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

निर्वाचन प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उहाँमाथि गोली प्रहार भएको थियो ।

पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि अधिकारीले जनाएका छन् ।

प्रहरीले २० वर्षको जस्तो देखिने एकजना आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस व्यक्तिले पहिलो पटक प्रहार गरेपछि प्रहरीले उसको निगरानी तुरुन्तै थालेको र फेरि अर्को पटकको प्रहार गर्न नपाउँदै उसलाई समातिएको बताइएको छ ।

उक्त व्यक्तिले गृहमन्त्रीमाथि किन गोली प्रहार गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले अनुसन्धान थालिएको र यस बारेमा चाँडै नै जानकारी बाहिर ल्याउने बताएको छ ।

तर, उहाँ आइतबार पाकिस्तानमा रहेको एउटा इसाई धर्मको समूहका व्यक्तिसँग बैठक गर्नुभएको थियो । उक्त समूहसँग बैठक नगर्न इस्लामिक धर्माबलम्वीहरुले उहाँलाई अनुरोध गरिरहेका थिए ।

सोही कारणले पनि उहाँमाथि गोली प्रहार भएको अनुमान गरिएको छ । तर यस विषयको सत्यतथ्य बाहिर भने आएको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले पाकिस्तानी भूमिमा आतंकवाद परास्त भएरै छोड्ने र त्यसका लागि सरकार सक्षम पनि रहेको बताउनुभएको छ ।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचनको आयोजना गरिएको छ । यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफले राजनीति गर्न नपाउनेगरी अदालतले नै प्रतिबन्ध लगाएपछि यहाँको राजनीति अस्थिर बन्दै गएको छ ।

यस कारण पनि पछिल्लो समयमा पाकिस्तानको सत्ताधारी दल र विपक्षी दलबीच विवाद चुलिएको छ र उनीहरुको यस जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।

लाहोरमा उच्च सुरक्षा सतर्कता, निर्वाचन प्रचार अभियानमा सतर्कता 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार पाकिस्तानी प्रान्त लाहोरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृहमन्त्रीमाथि नै आइतबार गोली प्रहार भएपछि यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

साथै देशभरमा सुरु हुन लागेको निर्वाचन प्रचार अभियानमा पनि सतर्कता अपनाउन भनिएको छ । निर्वाचनको प्रचार अभियान तथा सभा सम्मेलनहरुका समयमा हिंसा हुन सक्ने अनुमानका कारण यस्तो गरिएको हो ।

सबै सुरक्षा निकायलाई सतर्क रहन भन्दै सम्भावित हिंसाको अवस्थालाई मध्यनजर गरी कार्यक्रमहरु सञ्चालन गर्न उच्च सुरक्षा अपनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री