एन्फा महासचिवमा तुलाधर र कोषाध्यक्षमा जोशी

काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ ।

एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष थिए ।

त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मनार्थ उपाध्यक्ष तथा आर्थिक समिति संयोजकमा शिक्षित पराजुली र अन्तर्राष्ट्रिय प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिका संयोजकमा नवीन पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित किरण राईलाई बैठकले प्रवक्ताको जिम्मेवारी दिएको छ भने लेखा परीक्षण र अनुशासन समिति संयोजकमा दीपक खातीलाई मनोनयन गरेको छ ।

बैठकले १८ वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगिता आगामी जेठ २९ गतेदेखि गर्ने, एन्फामा आबद्ध जिल्ला संघको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रीय प्रतियागिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्नेलगायत विषयमा निर्णय भएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री