उत्तर कोरियाले आणविक परीक्षणस्थल नष्ट गर्ने

ट्रम्प किम । तस्विर- एपी

सोल, दक्षिण कोरिया, २९ वैशाख – उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थल नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएको तनाव अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको हो ।

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको छ । आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने छ जसले उक्त कामको अनुगमन गर्नेछ ।

चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ ।

केसिएनएले विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै भनेको छ, “यदि मौसम अनुकुल रहेमा हतियार परीक्षणस्थललाई यही मे २३ र २५ गते नष्ट गर्ने कार्यक्रम तय भएको छ ।”

अमेरिकाले उत्तर कोरियालाई सघाउने

वासिङटन, २९ बैशाख – आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

हालै उत्तर कोरियाको भ्रमण गरेर फर्किनुभएका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ । यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गर्नु भएको थियो । यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो ।

“यदि किमले सही बाटो रोज्नुभयो भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ,” वासिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि माइकले भन्नुभएको थियो । माइकले उत्तर कोरियालाई छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्नसमेत आग्रह गर्नुभएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक अकस्मात गत बुधबार उत्तर कोरिया पुग्नुभएको बेला उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीका रूपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उहाँ बुधबार त्यहाँ पुग्नुभएको थियो ।

उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन् । तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन् ।

ती अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर नियन्त्रणमा लिने गरेको छ । उनीहरूलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री