पार्टी एकता अनुमोदन, नयाँ पार्टी दर्ता आजै

तस्वीर- प्रचण्डको सचिवालय

काठमाडौँ, ३ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो ।

एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनु भएको थियो ।

अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ ।

एमालेका महासचिव एवम् संयोजन समितिका सदस्य ईश्वर पोखरेलले एकता प्रक्रियालाई अन्तिम रुप दिइएको जानकारी दिँदै दुवै पार्टीको बैठक बसेर यसलाई अनुमोदन गर्ने बताउनुभयो ।

दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । सो नाम त निर्वाचन आयोगमा दर्ता भइसकेको छ नि भन्ने प्रश्नमा महासचिव पोखरेलले भन्नुभयो, “नेकपाको नाममा नै पार्टी दर्ता हुन्छ । समस्या छैन ।”

एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद, लेनिनवाद हुनेछ । यस्तै नेपालको सापेक्षातामा जनताको जनवादलाई स्वीकार गरेर जाने विषयमा समेत दुई पार्टीबीच सहमति भएको छ ।

एकीकृत पार्टीमा पालैपालो नेतृत्व गर्नेलगायतका विषयमा सहमति भएको छ । नयाँ पार्टीको स्थायी समितिमा ४३ जना छन् । त्यसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रका तर्फबाट १८ जना रहने निर्णय गरिएको छ । कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य रहनेछ ।

एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ ।

उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।

एकीकृत पार्टीको संयुक्त बैठक बस्ने 

एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । अपराह्न १६.०० बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ एक होटलमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री