अभिनयमा स्थापित हुंदै लियो टयांक

लन्डन । पेशाले उनी क्वालिफाइड सिए (चार्टर्ड अकाउन्टेन्ट) हुन् । लन्डनस्थित स्टरलिङ चार्टर्ड अकाउन्टेन्ट फर्ममा सिनियर अकाउन्टेन्टका रुपमा कार्यरत टंक धमला (लियो ट्यांक) को पाइला भने कला क्षेत्रतिर तेजसंग बढेको छ । लन्डनमै बनाइएका केही म्यूजिक भिडियोमा छाएपछि उनी यस क्षेत्रमा अझ हौसिए । रहेसम्म, हे मोरी पातली, अरुसंग तिमी, मेरो मनमा बस… जस्ता गीतका म्यूजिक भिडियोमा अभिनयपछि उनी सिए भन्दा बढि मोडलका रुपमा चिनिएका छन् । अंग्रेजी फिल्म ‘डेन्जरस गेम’ (०१७) मा सानो भूमिका उनलाई ‘प्लस पोइन्ट’ भयो । उनले स्वीस एयरको विज्ञापन, विभिन्न म्यागेजिनका लागि फोटो सुट अवसर पाइसकेका छन् ।

करिब दुई महिना बलिउड बसेर हालै फर्किएका छन् लियो । इण्डियामा यात्री थिएटर ग्रुपसंग आवद्ध भएर २० दिन वर्कसप गरेपछि यसमा अझ खारिएको उनको अनुभव छ । त्यहां २६ प्रतिष्पर्धीमा ४ जनाभित्र छानिएर नाटक समेत मञ्चन गर्ने मौका उनले पाए । लाइफ स्टाइल म्यागेजिनले उनलाई स्थान दियो भने अन्य तीन एजेन्सीले निशुल्क फोटोसुट अफर गरे ।

स्कुल, कलेज पढ्दा नै नाटक, अभिनयमा रमाउंथे उनी । नेपाल छंदा एफएममा दुई वर्षजति कार्यक्रम सञ्चालनको अनुभव लिएका उनी सन् २००९ मा अध्ययनका लागि लन्डन आए । व्यस्तता बाबजुद यहां उनले कला मोह त्यागेनन् । इष्ट लन्डनको किङडम ड्रामा स्कुलमा अभिनयमा एक वर्षे डिप्लोमा उत्तिर्ण गरे ।

अकाउण्टिङ उनको प्रमुख विषय थियो । पढाइ थालेको दुई वर्षमै क्वालिफाइड सिए बनेपछि सन् २०१४ देखि टंक अकाउण्टिङ र कला क्षेत्र दुवैमा समानान्तर रुपमा अघि बढेका छन् । छोटो अवधिमा लन्डनमा कयौं म्यूजिक भिडियो र बलिउड गएर थिएटरतिर पनि काम गर्ने अवसर पाएकामा उत्साहित छन् लियो ।

२७ वर्षीय लियोले हिन्दी सिनेमाका लागि कयौं अडिसन दिइसकेको र छिट्टै केही प्रोजेक्टमा काम गर्ने योजना सुनाए ।
५ फिट ९ इन्च उचाईंका टंक फोटोजेनिक फेस र हिन्दी एवं अंग्रेजीमा दख्खल भएर पनि यस क्षेत्रमा सफलता हासिल हुने विश्वासमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री