नेपाली जनचाहनाअनुसार एकता-प्रचण्ड, कम्युनिष्टहरु जुट्न जान्दैनन् भन्ने विषय इतिहास–ओली

OLI Dahal ekata ghosana

राष्ट्रिय सभागृह काठमाडौँमा बिहीबार नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणा कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, ३ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ ।

नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गर्नुभयो ।

“हामी जनताका सामु गरेको प्रतिबद्धताबाट विचलित हुने छैनौं, अस्थिरताको युग अन्त्य भयो, अब सुशासन र राजनीतिक स्थिरताको युग शुरु भयो”– उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारमा गएपछि स्खलित हुने प्रवृत्तिबाट सजग हुँदै जनताको पक्षमा काम गर्नुपर्ने र देशलाई नयाँ उचाइमा उठाएर जनताको सेवामा लागिपर्ने उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीभित्र हुर्कन थालेको अराजकता र अस्थिरतालाई निमिट्यान्न पार्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।

आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उहाँले एकता प्रक्रिया महान् छलाङको अर्को रुप हो भन्नुभयो ।

अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बने जस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको धारणा व्यक्त गर्नुभयो ।

जेठ ३ गते नै पार्टी एकताको घोषणा गरौं भनेर आफूले नै प्रस्ताव गरेको बताउँदै उहाँले विसं २००६ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालेदेखि भोगको विभाजनको शृङ्खलाबाट आज नयाँ युगमा प्रवेश गरेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

कम्युनिष्ट फुट्न होइन, जुट्न पनि जान्छन् भन्ने स्थापितअध्यक्ष ओली

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो ।

अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र) बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो ।

एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।”

“बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?” अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै “आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,” भन्नुभयो ।

अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै “अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छौं,” भन्नुभयो ।

आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा ट्याम्पु चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा नै हुन्छन् बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्धि, सुशासनको महाअभियान अगाडि बढाउन दुई अध्यक्षले मिलेर काम गर्ने, विचार विमर्श गरी अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै जिन्दगीका खुशीका दिनमध्ये आजको दिन आफूलाई असाध्यै खुशी लागेको दिन रहेको धारणा व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई वर्तमान अनुकूल परिस्थितिलाई सदुपयोग गरी नेपाललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गर्दै उहाँले सानातिना कम्युनिष्ट पार्टीका नाममा पसल खोलेर बस्ने जमाना सकिएको हुँदा बृहत् एकता प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले अहंकारबाट मुक्त भएर देश निर्माणको महाअभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै छरिएका रहेका सबै कम्युनिष्ट महाअभियानमा सहभागी भएर योगदान पुरयाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उहाँले अनावश्यक दम्भ नगर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले अनावश्यक तर्क गरेर आफ्नै प्रतिष्ठा नघटाउन र जनताको माग एंव चाहनालाई सम्बोधन गर्नसमेत अनुरोध गर्नुभयो ।

आफूहरुलाई अहंकार देखाउन, दमन गर्न बहुमत चाहिएको नभई देश बनाउने जिम्मेवारी सालिनतापूर्वक निभाउन, भ्रष्टाचार रोक्न एकता र बहुमत चाहिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, कानूनी राज, सुशासन लोकतान्त्रिक मूल्यमान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय कानूनको राज चलाउने हाम्रो प्रतिबद्धता छ, यसबाट कोही आत्तिनु पर्दैन ।”

‘कसैलाई भेदभाव गरिँदैन’

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई क्षमता, योग्यता र सक्रियताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि नेता तथा कार्यकर्तालाई भेदभाव गरिँदैन, योग्यता, क्षमता, सक्रियता हेरेर, आजको सक्रियता र भोलिकोसमेत अवस्था हेरेर जिम्मेवारी दिन्छौँ ।”

अध्यक्ष ओलीले आज नयाँ इतिहास रचना भएको देश नयाँ युगमा प्रवेश गरेको बताउँदै आगामी तीन महिनाभित्रै सबै जनवर्गीय संगठनको एकता र समायोजन प्रक्रिया सम्पन्न गरिने जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री