धूम्रबाराहीमा ओलीको स्वागत दाहाललाई, पेरिसडाँडामा दाहालको स्वागत ओलीलाई

काठमाडौँ-पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले शुक्रबार तत्कालीन नेकपा एमालेको धूम्रबाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ती कार्यालय निरीक्षण गरेका छन् ।

धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गरेका थिए । एमाले र केन्द्रबीच बिहीबार एकता भएको थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गरे ।

दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको नेताहरुले अवलोकन गरेका थिए । सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी थिए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री