गोर्खा कपमा ४२ टिमको प्रतिष्पर्धा, आकर्षण यसपटक बढि

लन्डन । विदेशको नेपाली डायष्पोरामा सबैभन्दा वृहत ठानिएको नेपाली इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक ४२ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक तमुधिं यूकेले आइतबार एक पत्रकार सम्मेलन गरि ३२ नन भेट्रान (मेन क्याटेगोरी) र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने जनाएको हो । प्रतिष्पर्धा गर्न हङकङ, बेल्जियम र हल्याण्डबाट समेत खेलाडी आउने भएका छन् ।

आउंदो २७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुने १६ औं गोर्खा कपको तयारी अन्तिम चरणमा छ । ९ ए साइड उक्त प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ । विगत ६ महिनायता ३१ सदस्यीय समिति इभेन्ट सफल बनाउन अहोरात्र खटिएको छ ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, महासचिव कृष्ण गुरुङ, कार्यक्रम संयोजक एवं स्पोर्टस सेक्रेटरी क्याप्टेन पिताम्बर गुरुङ, सहसंयोजकहरु ले. कुसाङ गुरुङ र कुमार गुरुङले गोर्खा कपबारे विस्तृत जानकारी दिए । कुसाङ गुरुङ र कुमार गुरुङले टिम क्याप्टेन, मिडियाकर्मी र तमुधिं पदाधिकारीहरुमाझ टिम ड्र गराएका थिए ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले उक्त इभेन्ट हेर्न १० हजार बढि दर्शक उपस्थित हुने विश्वास व्यक्त गर्दै आपतकालिन सेवा जस्तै एम्बुलेन्स, प्रहरी बल, टवाइलेट र कार पार्क सुविधा, खाना आदिको व्यवस्थापन भइसकेको बताए । त्यसदिन करिब एकसय २० जना स्वयंसेवक खटिनेछन् । खानाका कम्तीमा दश वटा स्टल र हस्तकलाका ४० बढि स्टल रहने बताइएको छ । गैर आवासीय नेपाली संघ बेलायतले निशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । संयोजक गुरुङले कार्यक्रम गर्न करिब ४५ हजार पाउण्ड खर्च हुने जानकारी दिए ।

खेलाडीलाई हौसला बढाउन यसपटक पुरस्कार राशी वृद्धि गरिएको छ जसमा नन भेट्रान (मेन) वीनरको पुरस्कार राशी २५ सय पाउण्ड छ । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोश्रो हुनेले ८०० पाउण्ड पाउनेछन् । पुरस्कारमा नगद, ट्रफी र सर्टिफिकेट पनि छ ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गोर्खा कप विदेशमा बस्ने नेपालीको सबैभन्दा ठूलो कुम्भ मेला भएको बताउंदै सहभागिताका लागि समस्त नेपाली समुदायमा आव्हान गरेका छन् । अध्यक्ष गुरुङले गोर्खा कपको विशेष आकर्षणहरुमा एफए कप डिस्प्ले, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, मार्सल आर्टस, मिलिट्री डिस्प्ले, पञ्चे बाजा, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खाना, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने जनाए । उनले गोर्खा कपले स्थानीय व्यापार व्यवसाय र नेपालको पर्यटन प्रवर्धन, विश्वभरका नेपालीमाझ सकारात्मक सन्देश प्रवाह, स्थानीय समुदायसंग अन्तरघुलन र सामुदायिक एकतामा बल पुग्ने विश्वास समेत व्यक्त गरे ।

उक्त इभेन्टमा करिब २०० जना विशिष्ट अतिथीसहित हजारौं नेपाली तथा ब्रिटिश नागरिक सहभागी हुने अपेक्षा छ ।

कार्यक्रममा तमुधिं यूकेले शनिबारमात्र निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ बेलायत शाखाका पदाधिकारी र अन्य सञ्चारकर्मीलाई खादा र मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो । सम्मानपछि शाखाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले 
महासंघ तमुधिं यूकेसंग सहकार्य गरेर केही रचनात्मक कार्य गर्न इच्छुक रहेको बताए ।

उक्त अवसरमा गोर्खा कपको इतिहास समेटिएको वृत्तचित्र र हालै तमुधिं यूके नेतृत्वको टिमले गरेको क्होंला सोथर अध्ययन भ्रमणबारे बनाइएको भिडियो देखाइएको थियो । उक्त भ्रमणको विस्तृत भिडियो भने आगामी जुन १६ मा एक अन्तरक्रियात्मक कार्यक्रममाझ सार्वजनिक गर्ने योजना रहेको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री