स्वार्थीहरुको भिडमा प्रकृति बरु इमान्दार

मेरो वासस्थान एल्सबरीबाट काम गर्ने शहर वाटफोर्ड करिब ३०-४० मिनेटको ड्राइभ अर्थात करिब २५ माइलको दुरीमा पर्छ । मेरो शान्त सौम्य वस्तीबाट काम तर्फ लाग्दा जोड्ने बाटोलाई ‘ए ४१’ भनिन्छ, यो ड्वेल क्यारिज वे हो । दुईतर्फ गरेर ४ लेनको बाटो छ । यो स-साना पहाड, जंगल, 
हरियाली र सानो वस्ती हुंदै जानु पर्छ । यो रोडको लम्बाई करिब ११२.९ किलो मिटर छ, यसको सुरुवात २०७५ बाट भएको रहेछ । यो लन्डनबाट सुरु भई १६ वटा मुख्य गन्तब्य स्थान जोड्दै र ८ वटा काउन्टी छुंदै वाटफोर्ड, हेमेल हेम्सस्टेड, एल्सबरी, बिस्टर भिलेज, अक्सफोर्ड हुदै मर्सीसाइडमा अन्त्य हुने रहेछ ।

जीवन यात्रा भित्रको मेरो दैनिक यात्रा यसै मार्गले जोडेको छ । यो मेरो प्रिय मित्र र अनन्य बनेको छ । पहाडको कुनै 
कन्दरामा जन्मे हुर्केको गाउंले केटी म । मलाई शहरको हुल र कोलाहल भन्दा रुख, बुट्यानका साथ प्यारो र दरो लाग्छ । मानव निर्मित भवनहरुले मलाई उसको आडम्बर र स्वार्थीपन झल्केको महशुस गर्छु । वस्तीबाट पर माटोको पूर्णता, सृष्टिको सृजना, बिना तोडमोड, बिना कारण उत्पन्न सृष्टिको उपहार रुख र बुट्यानहरु । बिना कारण, बिना प्रतिष्पर्धा 
उम्रन्छ, हुर्कन्छ र फुल्छ । बिना मानवीय नजर फेरी धर्तीमा विलिन हुन्छ । उ कति निश्चल छ, शान्त छ, सौम्य छ, पुलकित छ, पवित्र छ । स्वतन्त्र छ, परिपक्क छ । रातको अंधेरी ले तर्सदैंन ऊ । बिहानीको उषाका किरणले मात्तिंदैन ऊ । दिनको टन्टलापुर घामले पग्लिदैंन ऊ । हुरी र बतासले डग्दैन ऊ । यो मेरो र हाम्रो अनन्त साथी बन्न सक्छ । प्राप्तिको आशा शुन्य छ उसमा । मेरो आधा फोक्सो उसले बोकेको छ, आधा म संग छ । उसले फालेको अक्सिजनबाट म जीवित छु । मेरो प्राणको हिस्सा ऊ, मेरो जीवनको उमंग ऊ । मेरो 
जीवनको रंग ऊ । अभिन्न, अविछिन्न प्रेमिल धरोहर ऊ ।

यस्तै प्रकृतिको काख छेडी मेरो हरेक दिनको यात्रा मनोरम बनेको हुन्छ । म गाउंले केटीको सौख पनि अचम्मको छ । मोटर हांक्ने, लामो दुरीमा ड्राइभिंग जाने मेरो यो सौख घर र कामको दुरीले पूर्णता दिएको छ । दैनिक ५० माइलको दुरीमा गाडीको गतिसंगै मनको गति पनि हुईंकिइ रहेको हुन्छ । विचारको जन्जिरमा बांधिएका हामी विचारको हुल दिमाग 
भरिए पछि एक अर्को गर्दै आकाशको बादल जस्तै मडारिएको हुन्छ । कहिले तुच्छ विचार, कहिले स्वच्छ विचार । यहि विचारको परिवन्दका शिकार हामी । कहिले स्वर्गको अनुभव गर्छौं त कहिले नर्कको । मन र विचारका दासी हामी, बिना ब्रेकका गाडी जस्तै कहिले यता ठक्कर खान्छौं कहिले उता ठक्कर खान्छौं । कोहि यसै ठक्करबाट बिउझिन्छौं, कोही सुशुप्त रुपमा, बेहोसीमै सकिन्छौं ।

यस ब्रम्हाण्डको सानो अस्तु म दैनिक गुजाराको खातिर एक शहरबाट अर्को शहरमा दौडिरहेको छु । तर, चारोको खोजीमा मेरो दैनिक किन हो कुन्नि अत्यन्तै उर्जाशील र आनन्दित महशुस गर्छु । उषाको किरणसंगै पंक्षीको चिरबीर आवाज, यो मार्गका दायां बायांका मनोरम हरियाली रुख र बुट्यानको सुन्दरता, आकाश र क्षितिजको मिलन अनि धर्तीको चमत्कारिता देखेर कुन कविको मन उत्ताउलो हुन्न होला ? विशेष गरेर यो बेलायतको वसन्त ऋतुले हरेक मनमा नयां उर्जा, नयां जोश, नयां जांगर, नयां आशा, नयां सिर्जना प्रदान गरेको छ । लाग्छ, भर्खर यौवनमा प्रवेश गरेका किशोर किशोरीहरु मस्तसंग आनन्दित छन् । किशोरीका कपालका चुल्ठामा रंगिन रिबनहरु फर्फराई रहेका छन् । राता, 
पहेंला, निला, सेता । कुनै रुख भर्खर दशैंमा सिलाएको राता घाङ्गरहरु लगाएका किशोरी जस्ता लाग्छन् । डांडाहरु मस्त 
छन् । वस्तीहरु आनन्दित छन्, पक्षीहरु फुरुंग छन् । म खेताला दंग छु, अस्तित्वको अद्भुत चमत्कार र रहस्य देखेर ।

मेरो गाडीको गति बढ्दै जान्छ । मेरो मन र गाडीको गतिले छेउ छेउमा उभिएका रुखहरुको मौनता भंग गरे जस्तो लाग्छ । कहिले उषाका किरणहरु रुख र बुट्यानबाट लुकामारी खेल्दै मलाई जिस्काए जस्तो लाग्छ । हावाका सुस्त वहावसंगै बहेली खेले जस्तै लाग्छ । सूर्य उदाउंछ र अस्ताउंछ । ऊ आफ्नो गति आकाशको बादलसंग सरोकार राख्दैन, धर्तीका आणविक प्रतिष्पर्धासंग पनि सरोकार राख्दैन । ऊ निरन्तर चलिरहन्छ हरेक प्राणी र प्रकृतिलाई उर्जा र प्राण भरेर । यही सौर्य गति संगै मेरो उमेर, मेरो दैनिकी कति पारस्परिक छ । उसको उदय र अस्तयसंगै मेरो तन र मनको सामन्जस्यता छ । उसले भरेको ताप र प्रकाशबाट मेरो तन, मन र मस्तिस्कको उर्जाको निर्धारण हुन्छ । अनि म सूर्य नारायण नमः भनेर किन नमस्कार नगरुं ?

धर्ती साझा घर हो । आकाश छाना हो । अनन्त वायुमण्डलको कुनै सिमा रेखा छैन् । यसै आकाशको अधिपत्य जमाउंदै र मेरो गतिलाई चुनौती दिदै पंक्षीहरु गतिमान देखिन्छन् । कुन उद्देश्यमा उड्दैछन् कुन्नि मेरो जस्तै जीवन चरण र काम र कर्तव्य होलान् । सृष्टिका माग त उसले पनि पुरा गर्नु छ । भागेर जाने कुनै ठाउं छैन्, लुकाएर लुकाउने कुनै दुनिया छैन् । यसै दुनियाको म र ऊ पंक्षी उस्तै जस्तो लाग्छ । सपना र विपनाको अप्रमाणित समीकरण जस्तो । सपनाको मिठास र विपनाको तिक्तता जीवन यात्राका पानाहरु हुन् । बेहोसी र रहरमा देखिएका सपना र होसमा भोगिएका जीवन भोगाई नै तिम्रो र मेरो जीवन कथा हुन् । गुंड, चारो, सन्तान, रहर, चाहना, यथार्थबीचको खिचातानी कथाका हरफहरु हुन् ।

जति हेरे पनि आनन्द प्राप्त हुने यो प्रकृतिको अनुपम दृश्यलाई अवलोकन गर्दै नागबेली यो रोडमा गाडी चलाउंदै कार्यक्षेत्र जान पाउनु आफैंलाई भाग्यमानी ठान्छु । साना साना डांडाहरु, डांडाबीचका वस्तीहरु, यही सुन्दर वस्तीमा कवि विलियम 
कौपर, लेखक ग्राहम ग्रीन, मारिया एज्वोर्थ जन्मिए र प्रकृतिको वर्णन गर्दै हुर्किए । आफ्ना जिवन्त रचना सिर्जित गरे र पुस्तौं पुस्तासम्मलाई छाडेर गए । यो डांडाकांडाको तारिफ गर्न र आनन्द लिन टाढा टाढाबाट हजारौं जनमानसको घुईंचो हुन्छ । म मेरै जीवन र यी नै प्रकृतिको साक्षी म । तिम्रो सुन्दरतामा नतमस्तक छु । तिम्रो गर्भबाट उत्पादित म फेरी तिम्रै गर्भमा विलिन हुनेछु । यो जन्म र मृत्युबीचको रंगमञ्च तिम्रै सुवास र निश्चलता अंगाल्दै मेरो नाटकीय रोल निभाउंदै छु ।

पानीको हरेक प्रवाह नदीको किनारालाई छोड्दै विशाल समुन्द्रको प्यासमा आतुर हुन्छ । करिब उस्तै म पनि त्यहि सुन्दर बिहानीको यात्राको आतुरमा बिउंझिञ्छु र विराट अस्तित्वको दृश्य अवलोकनतर्फ आतुर हुन्छु । जसरी नदी आतुर छ समुन्द्र छुनलाई, म पनि तिनै नदी जस्तै विराट जीवनको रहरमा बिउंझने कोशिसमा छु । मुर्छित मनले त केवल दुर्दशा अनि कष्टको निमन्त्रणा दिन्छ, चेतनाले भरिपूर्ण मनले लक्षित गन्तव्यमा पुरयाउंछ । हो म एक साक्षी, अस्तित्वमा एकाकार हुने लक्ष्य बोकेको, सुन्यता खोज्दै म विलिन गराउने रहरमा बांचेकी एल्सबरीवासी, ‘ए ४१’ को यात्री र मित्र ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री