सरकार प्रवासी नेपालीसँग हातेमालो गर्दै अघि बढ्ने

लन्डन । सरकारले प्रवासी नेपालीसँग भएका ज्ञान, क्षमता र अनुभव नेपालमा भित्र्याउने तयारी थालेको छ । नेपाल कम्यूनिस्ट पार्टीका सांसद पदम गिरीको स्वागतमा सोमबार लन्डनमा आयोजित कार्यक्रममा सांसद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने बताएका हुन् ।

उक्त कार्यका लागि प्रधानमन्त्री केपी ओलीले ‘थिंक टयांक’ गठन गर्न लागेका छन् । थिंक टयांकले शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न छुट्टाछुटटै विज्ञहरु रहने छन् । ति विज्ञले सरकार र प्रवासी नेपालीसँग समन्वय गरि मुलुकलागि समृद्ध बनाउन द्रुत गतिमा काम गर्नेछन् । सांसद गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लायक भएको दावी गरे । 

उनका अनुसार सरकारको उच्च प्राथमिकतामा पूर्वाधार विकास छ । त्यसमा प्रवासी नेपालीको सहयोग अपेक्षा गरिएको उनले बताए । 

प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सांसद गिरीलाई स्वागत गर्दै सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रमा जनता भन्दा ठूलो कोही नभएको बताउदै अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए । 

मञ्चका संस्थापक अध्यक्ष आङकल्जङ लामाले प्रवासका संगठनबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको जनाए । निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभव नेपाल सरकारलाई हस्तान्तरण गर्न आफूहरु तयार रहेको बताए । 

जनप्रगतिशील मञ्च यूकेका पूर्व इन्चार्ज पूर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले पत्रकारहरु नेपालको समृद्धिका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए । 

नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङमाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री