नर्सिङ एसोसिएसनले दशौं वार्षिकोत्सव विशेष च्यारिटी गरि मनाउने

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सव एक विशेष च्यारिटी गरि मनाउने भएको छ । एसोसिएसन स्थापनाको दिन आगामी अगष्ट २४ तारिख लन्डनमा प्रसुति गृह निर्माण सहयोगार्थ एक च्यारिटी डिनर गर्न लागिएको हो ।

मंगलबार सांझ लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा एसोसिएसन अध्यक्ष प्रसुना कंडेलले जुम्लास्थित सिन्जामा मार्चदेखि प्रसुति गृह निर्माण शुरु भइसकेको जनाउंदै उक्त प्रसुति गृहका लागि सहयोग जुटाउन च्यारिटी गर्ने तयारी भएको बताइन् ।

एसोसिएसनलाई प्रसुति गृह निर्माण र ५ वर्षसम्म त्यसको मर्मत सम्भार एवं प्रशासनिक खर्च बेहोर्न करिब ६१ लाख, ५ हजार ९१५ रुपैयां आवश्यक छ । दुई वर्षभित्र निर्माण सक्ने र त्यसको तीन वर्षपछि प्रसुति गृह सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको कंडेलले जनाइन् ।

उक्त वर्थिङ सेन्टर निर्माणमा नेपालबाट एक्सन वक्स नेपालले सहयोग गरिरहेको छ ।

अध्यक्ष कंडेलले उक्त च्यारिटीमा सहभागी भइ आर्थिक सहयोग गरेर एउटा पूण्यकाममा सघाउन बेलायतको समस्त नेपाली समुदायलाई अपिल गरेकी छन् ।

उक्त च्यारिटीमा नेपलिज डक्टर्स एसोसिएसन यूके र एनआरएनए यूकेले सहयोगको ऐक्यवद्धता जनाइसकेका छन् । एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले नर्सिङ एसोसिएसनको च्यारिटीलाई संघले उच्च प्राथमिकता दिएर सहयोग गर्ने अठोट व्यक्त गरे । त्रिपाठीले आफ्ना 
सयौं सल्लाहकार, कार्यसमिति र एनआरएनए केन्द्रबाट समेत आर्थिक सहयोगका लागि आव्हान 
गर्ने बताए ।

च्यारिटी कार्यक्रममा राजदूत, रोयल कलेज अफ 
नर्सिङ र मिड वाइफ्री काउन्सिलका पदाधिकारी, स्थानीय सांसद, काउन्सिलरहरु, पाकिस्तानी, बंगलादेशी, फिलिपिनो नर्सहरु समेत सहभागी हुने भएकाले कार्यक्रम ‘मल्टी कल्चरल’ हुने बताइएको छ । च्यारिटीमा ‘सरप्राइज प्याकेज’ सहित विभिन्न आकर्षक अक्सन एवं राफल ड्र समेत राखिने छ ।

यसअघि एसोसिएसनले सन् २०१४ मा जुम्लाको पत्थरखोलामा प्रसुति गृह निर्माण गर्ने योजना अघि सारेपनि सरकारले पछि अन्यत्र स्वीकृति दिएको एसोसिएसनका पूर्व अध्यक्ष एवं सल्लाहकार बासु लामिछानेले बताए ।

पत्रकार भेटघाटमा एसोसिएसनका उपाध्यक्ष विनोदविकास सिम्खडा र कोषाध्यक्ष गंगा साम्पाङले पनि पत्रकारहरुका जिज्ञासा मेटाएका थिए । उपाध्यक्ष सिम्खडाले वार्षिकोत्सवका अवसरमा एसोसिएसनले ‘एनएनए स्मारिका’ प्रकाशन गर्ने जनाउंदै उक्त स्मारिकाका लागि विभिन्न लेख, रचना उपलव्ध गराइदिन सबैमा अपिल गरे ।

कार्यक्रममा कोषाध्यक्ष गंगा साम्पाङले हाल एसोसिएसनसंग विगतका च्यारिटीबाट संकलित रकम करिब १४ हजार पाउण्ड वचत रहेको बताउंदै अब प्रसुति गृह निर्माणका लागि ४२ हजार पाउण्ड आवश्यक रहेको उल्लेख गरिन् । आसन्न च्यारिटीबाट मात्र करिब २० हजार पाउण्ड उठाउने ‘टार्गेट’ एसोसिएसनको छ ।

एसोसिएसनले भूकम्पपछि गोरखा र सिन्धुपाल्चोकमा दुई विद्यालय पुनर्निर्माण गरिसकेको छ भने बेलायत तथा नेपालमा निशुल्क स्वास्थ्य शिविरहरु समेत गरेको छ ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री