ट्रम्पसँग ‘रचनात्मक’ भेटको अपेक्षामा पुटिन

मस्को, रूस, २६ जेठ – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताउनुभएको छ ।

पुटिनले भन्नुभयो, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो । यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ, मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ ।”

ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाउनुभएको छ । उहाँहरूबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ ।

रूसी उप विदेशमन्त्री सेर्गेइ रयाकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ ।

उहाँहरूबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्ष जुलाईमा भेट भएको थियो । दोस्रो पटक उहाँहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेट्नुभएको थियो ।

यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गर्नुभएको थियो भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डीसीको भ्रमण गर्न आमन्त्रण गर्नुभएको थियो । सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि यूक्रेनी सङ्कट, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण दुई देशबीचको सम्बन्धमा समस्या आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री