प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिश

दीपकराज जोशी

काठमाडौँ-संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सो पद रिक्त छ । कामु प्रधानन्यायाधीशको रुपमा वरिष्ठतम् न्यायाधीशको हैसियतले जोशीले काम गर्दै आएका छन् ।

न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका न्यायाधीशमध्ये वरिष्ठतम् न्यायाधीश जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको संवैधानिक परिषद्मा पठाएको थियो । न्यायालयमा वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश हुने व्यवस्था छ ।

मन्त्री तामाङले उच्च नैतिक चरित्र, इमान्दारिता र कार्यदक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिश गरिएको जानकारी दिँदै उनको नाम संघीय संसद्मा पठाउने बताए ।

न्यायपरिषद्ले पठाएको कागजातका आधारमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिश गरेपछि संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश जोशी, सभामुख कृष्णबहादुर महरा, कानूनमन्त्री तामाङ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री