प्रदेश नं ७ र ४ को नीति तथा कार्यक्रम पारित

प्रदेश नं. ४ को मंगलबार पोखरामा बसेको बैठकद्वारा प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गर्दै प्रदेश सभा सदस्यहरु । तस्वीर – हरि बाँस्तोला, पोखरा, रासस

धनगढी, २९ जेठ – प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि जेठ२७, २८ र २९ गते छलफल भएको थियो । नीति तथा कार्यक्रमसहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई ‘धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव आजको बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले हामी नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको बताउनुभयो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालु आवको बजेट रकम खर्चसम्बन्धी प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले प्रचलित ऐन कानूनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताउनुभयो ।

नीति तथा कार्यक्रम माथिको बाँकी छलफलमा आज प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिनु भएको थियो ।

बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गर्नु भएको थियो ।

आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५/७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश को नीति तथा कार्यक्रम पारित

पोखरा, २९ जेठ – प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश सरकारको २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राख्नु भएको उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, कृष्णचन्द्र पोख्रेल नेपाली, रामजी बराल(जीवन), कृष्ण थापा, मोहनप्रसाद रेग्मी, मणिभद्र शर्मा, मधुमाया अधिकारी गुरुङ, कृष्णबहादुर थापा, आशा कोइराला, इन्द्रलाल सापकोटा, विन्दुकुमार थापा, दिलमाया रोकाहामगर, राजिव पहारी, सरिता गुरुङलगायतले भाग लिनुभएको थियो ।

प्रदेशसभामा बोल्ने सदस्यमध्य सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्ग निर्देशक भएको धारणा राख्नुभएको थियो भने प्रतिपक्ष दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकांक्षी भएको उल्लेख गर्नुभयो ।

छलफलमा उठेका जिज्ञाशाको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको भरपूर उपयोग गरी प्रदेशको समृद्धि र विकासलाई अघि बढाइने बताउनुभयो ।

विशेष गरी पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक निर्माणमा जोड दिइएको बताउँदै उहाँले संघीयताको कार्यान्वयनमा यस प्रदेशलाई नमूना प्रदेश बनाइने बताउनुभयो ।

यही जेठ २५ प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न २ बजे बस्नेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री