बेलायतमा युवाहरुले भुलेका छैनन् नेपाली कला संस्कृति

लन्डन । ९ जुन शनिबार अल्डरसटस्थित एम्पाएर ब्याङक्वेट हलमा छैठौं अन्तर विश्वविद्यालय नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भयो । हाम्री कान्छी छोरी सलिनलता 
गुरुङ र साथीहरुले पोर्टसमाउथ युनिभर्सिटीबाट भाग लिएकाले उनीहरुलाई हौसला प्रदान गर्न हामी दम्पति सो दिन मगर 
संघ यूकेको ओपन कन्सर्ट बीचैमा छाडेर अपरान्ह २ बजे फार्नबोरोबाट अल्डरसट पुगेका थियौं । तर, बेलायत बसे पनि आफ्ना अग्रजहरुले मेन्टेन गरि आएका नेपाली टाइमलाई यी युवाहरुले नजर अन्दाज कसरी गर्न सक्थे र ? त्यस्तै भयो, कार्यक्रम निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो सांढे तीन बजे तिर मात्रै शुरु भएको थियो । तर कार्यक्रम ढिलो शुरु भए पनि पर्खाइको त्यो डेढ घन्टाको अवधि हामीलाई पट्टक्कै पट्यार लाग्दो भएन । सायद आफ्ना छोराछोरीहरुले आयोजना गर्न लागेको इभेन्ट भएर होला, हामी सिटमा बसेर उनीहरुले तयारी गर्दै गरेको दृश्यहरु हेर्दै आनन्दित भइरहयौं ।

कुल १६ युनिभर्सिटीले भाग लिएको उक्त प्रतियोगिता आयोजना गत सालको विजयी किङ्सटन युनिभर्सिटीले गरेको थियो । कार्यक्रम सञ्चालनको जिम्मा मिडलसेक्स युनिभर्सिटीका दिनेश रोका र किङ्सटन युनिभर्सिटीकी काजोल गुरुङले वहन गरेका थिए ।

कार्यक्रमको आरम्भमा चार जना निर्णायकहरु यूके टयालेन्ट हन्ट २००८ की विजेता सुजाता राई, यूके डान्स अफ २०१६ की विजेता जेनी सुनुवार, पर्चा प्रोडक्सनका समीर गुरुङ र मर्जिङ नेपलिज सोसाइटीका संस्थापक पवन कंडेललाई खादाले स्वागत गरे पश्चात आयोजक किङ्स्टन युनिभर्सिटीको पहिलो आकर्षक प्रस्तुतिबाट शुरु भयो प्रतियोगिता । प्रतियोगितामा पोर्ट्समाउथ युनिभर्सिटी, ब्रुनेल युनिभर्सिटी आदिले क्रमिक रुपमा आ-आफ्नो प्रस्तुतिहरु एक पछि अर्को ‘ननस्टप’ देखाउंदै गए ।

सबै प्रतियोगीहरुको प्रस्तुति दमदार देखिन्थ्यो । प्रायः सबैले विविध सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने गीतको चयन पनि उत्कृष्ट थियो । बेलायत बसेका ती आधुनिक नानीहरुले विशेषतः नेपाली लोक संस्कृति झल्कने खालका पुराना गीतहरु, चुड्का, तामाङ सेलो आदि छनोट गरेको देख्दा गर्वले छाती फुलेको अनुभुति भयो भने त्यसरी आफ्नो संस्कृति जगेर्ना गर्न लागिपरेका ती नानीहरुको प्रस्तुति हेर्न आउने दर्शकदीर्घामा अभिभावकहरुको नगण्य उपस्थिति देख्दा एकप्रकारको नमिठोपनको आभास भयो । लाग्यो, बेलायतका हाम्रा नेपाली अभिभावकहरु कि त काममै व्यस्त छन् कि काम बाहेक बिदाको समय आफ्नै साथीभाइको भेला, बेलायतमा अत्यधिक बढ्दो भोज भतेर र अन्य सामाजिक कृयाकलापकै मोज मस्तीमा ब्यस्त छन् । यसै कारण आफ्नै छोराछोरीले आयोजना गरेका यस्ता रमाइला कार्यक्रममा सम्मिलित हुन समय दिन नसकेका हुन कि ? छोरा छोरीले त आफ्नो संस्कृति जगेर्ना गर्ने जिम्मेवारी सफलतापूर्वक वहन गरे तर हामी अभिभावक पो आफ्नो जिम्मेवारीबाट चुक्यौं कि कतै भन्ने लागिरहयो । यस्ता कुरामा हामीले अंग्रेजहरुबाट सिक्नु पर्ने धेरै छ जस्तो लाग्छ । कारण उनीहरु आफ्ना छोराछोरीको हरेक क्रियाकलापमा सक्रियताका साथ सहभागी हुन्छन् चाहे त्यो प्यारेन्ट्स इभिनिङ होस् वा मिटिङ । चाहे स्कुल-कलेजका इभेन्टहरु हुन् ।

जे होस् कार्यक्रम शुरु हुने बेलासम्म खाली खाली हल देख्दा मन खिन्न भइरहेको अवस्था थियो भने बिस्तारै युनिभर्सिटीकै विद्यार्थीहरुले हल खचाखच भरिएको देख्दा एक प्रकारको सन्तोष र आनन्दानुभूति भयो । लाग्यो, यदि सबैका अभिभावक आएका भए त्यो हलमा अटाउने पनि थिएनन् होला ।

लेखिका सुधा गुरुङ

करिब पौने ९ बजे तिर सबै सहभागिको प्रस्तुति सकिए पश्चात विजयी घोषणा गर्ने समय आयो । नृत्य त सबै ग्रुपको अति आकर्षक र उत्कृष्ट थियो नै तर दुई वटा 
युनिभर्सिटीका सहभागीहरुले भने अहिलेको जल्दो बल्दो चेलिबेटी बेचबिखन र सडक बालबालिका एवं लागूऔषध 
दुरवेसनको समस्यालाई बडो मार्मिक ढंगले प्रस्तुत गरेका थिए ।

सोही अनुरुप ती दुवै युनिभर्सिटीहरु क्रमशः प्रथम र द्वितीय हुन सफल भए । रोहयाम्पटन युनिभर्सिटी प्रथम हुन सफल भयो भने दोश्रो इष्ट लन्डन र सोआस युनिभर्सिटीको संयुक्त प्रस्तुति थियो । युसिएल र क्वीन म्यारी युनिभर्सिटीको संयुक्त प्रस्तुति तृतीय भएको थियो । विजयी टिमहरुलाई जजहरुले पुरस्कार वितरण गरे पछि करिब सांढे नौ बजे रातीतिर कार्यक्रम समापन भएको थियो ।

समग्रमा कार्यक्रम अति रमाइलो र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भयो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा आयोजक किङ्स्टन यूनिभर्सिटी र विजयी टीमलाई हार्दिक बधाई एवम भविष्यका लागि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री