मन्त्री लालबाबुको अभिव्यक्तिविरुद्ध एनआरएनए यूके, बोली नसच्याए वहिष्कार गर्ने चेतावनी

लन्डन । विदेश बस्ने नेपालीलाई ‘गाली’ गरेर चर्चामा आएका एक मन्त्रीको पछिल्लो अभिव्यक्तिविरुद्ध एनआरएनए यूकेले कडा आपत्ति जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हालै ‘विदेशको मताअधिकार र नागरिकता लिएका नेपाली भूपू नेपाली हुन् । भविष्यमा आवश्यक कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैत्रिक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । भूपू नेपालीबाट नेपाल बन्दैन भन्दै उनले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनको नारा गलत हो भनेका थिए ।

पण्डितले संविधानमा एनआरएनलाई आर्थिक क्रियाकलाप र देश विकासमा सहभागी गराउने कुरामात्र उल्लेख भएको दावी गरेका थिए । नेपाललाई केही योगदान नगर्ने बरु गाली गर्ने, विदेशी नागरिक हुने बाटोमा हिंडेर नेपाललाई नर्क ठान्ने, आफू सुपर र सुपरियर भएको ठान्ने तर नेपालमा रहेका भुसुना हुन् भन्ने सोच भएका एनआरएनको आफू पूर्ण विरोधी भएको पण्डितले बताएका थिए । ‘विदेशको मतदाता भएकालाई म भूपू नेपाली भन्छु’, उनको भनाइ थियो, ‘हिजो नेपाली थिए, अहिले विदेशी मुलुकका नागरिक भइसके । तर आफूलाई नेपाली भनिरहेका छन्, तिनीहरुले लुकाएर नेपाली नागरिकता राखेका छन् भने पनि ति भूपू नेपाली हुन् ।’

तर, नयां संविधानमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने उल्लेख छ ।

एनआरएनए यूकेले बुधबार लन्डनमा एक पत्रकार सम्मेलन गरि मन्त्री पण्डितको अभिव्यक्तिले विदेशमा बस्ने झण्डै ४० लाख नेपालीलाई चित्त दुःखाएको भन्दै आफ्नो भनाइ नसच्याए वहिष्कार गर्ने सम्मको चेतावनी दिएको छ । यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराइने जनाउंदै एनआरएनए यूकेले विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरेको छ । एनआरएनए यूकेले मन्त्री पण्डितको पछिल्ला अभिव्यक्तिबारे एनआरएनए केन्द्रसमेत चुप लागेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घलेले मन्त्री पण्डितको भनाइ विरुद्ध अब शान्तिपूर्ण, सभ्य र अर्थपूर्ण अभियान थालिने जनाए । घलेले विदेश बस्ने नेपालीले आपत विपतमा मातृभूमिलाई तन, मनले सहयोग गरेको बताए ।

एनआरएनए यूके संरक्षक योगेन क्षेत्रीले मन्त्री पण्डितको सोच ‘घातक’ रहेको बताउंदै उनले विदेशी दलालको पैसा लिएर त्यस्तो अभिव्यक्ति दिएको आरोप लगाए । क्षेत्रीले मन्त्री पण्डितको राजीनामा माग गर्दै गैर आवासीय नेपालीलाई विचलित नभइ देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले नेपाल सरकारका एक जिम्मेवार मन्त्रीको भनाइ अशोभनीय र आपत्तिजनक भएको बताए । ‘मन्त्रीको भनाइले विदेश बस्ने लाखौं नेपालीको मात्र होइन, हाम्रो गाउंघर, पाखा पखेरा, परिवार र आफन्तजनको पनि आत्मा रोएको छ’, अध्यक्ष फगामीले भने, ‘अहिले हामीले आवाज नउठाए अझै अप्ठेरो परिस्थिति हुन सक्छ । त्यसैले विश्वभरका नेपालीलाई हाम्रो अभियानमा साथ दिन आग्रह गर्दछु ।’

एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले 
मन्त्रीको भनाइ सम्वन्धमा केन्द्र चुप लागेको भन्ने यूके एनसीसीको आरोपको प्रतिवाद गरे । उनले हालैमात्र नेपालमा गृह, कानुन र परराष्ट्रमन्त्रीसंग भेट गरेर केन्द्रले नागरिकता निरन्तरताको गम्भीर विषयबारे स्पष्ट धारणा राखेको जनाए । मन्त्री पण्डितले विदेशका नेपालीलाई भूपू नेपाली भन्दा धेरै नेपालीको मन रोएको बताउंदै केन्द्रिय उपाध्यक्ष आचार्यले नयां संविधानमा गैर आवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने उल्लेख भएपनि के कस्तो हुने स्पष्ट नभएको बताए । ‘गैर आवासीय नागरिकता लिएपछि विदेशको पासपोर्ट लिने कि नलिने ?’ आचार्यले भने, ‘धेरै कुरा अझै अन्योलमा रहेकाले हामीले नेपाल सरकारलाई आफ्नो कन्सेप्ट पेपर बुझाएका छौं ।’ उनले नागरिकता निरन्तरता सम्वन्धि संघको टास्कफोर्सले काम गरिरहेको पनि जनाए ।


एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले एनआरएनए केन्द्रले चुप लागेपछि आफूहरु बोल्न वाध्य भएको बताए । ‘पार्टी, आस्था वा सिद्धान्त जे होस्, गल्तीलाई गल्ती भन्न किन नसक्ने ?’ उनले प्रश्न गर्दै भने, ‘विदेशमा बसेर हामीले नेपाललाई नै सहयोग गरेका छौं । परिवार पालेका 
छौं र समाज निर्माणमा जुटेका छौं ।’

एनआरएनए यूके उपाध्यक्ष एवं राज्य समन्वय विभाग संयोजक ललित कुमार न्यौपानले यही आइतबार वेल्समा गैर आवासीय नेपाली संघ बेलायतको वेल्स राज्य समन्वय परिषद गठन गर्न लागिएको जनाउंदै उपस्थितिका लागि आग्रह गरे । उनले २ जुलाइमा स्कटल्याण्ड र १५ जुलाइमा इंग्ल्याण्डमा समेत राज्य समन्वय परिषद गठन गरिने जनाए । संघले गत फेब्रुअरीमा नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद गठन गरिसकेको छ ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्षहरु शेरबहादुर सुनार, प्रेमगाहा मगर, शान्ति थापा कुंवर, कुमारी गुरुङ, भूपेन्द्र गुरुङ, डेभिड गुरुङ, नारायण गाउंले, होमनाथ पौडेल, सञ्जयभक्त कंडेल, वाचस्पति रेग्मी, दधि आचार्य, सूर्य नेम्वाङ, प्रभु न्यौपाने लगायतले विभिन्न धारणा राखेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री