मन्त्री लालबाबुविरुद्ध जेहाद, एनआरएनए युकेको केवल चर्चा मोह

मन्त्री पण्डित । फाइल तस्विर

लिस्बोन, १४ जून । एनआरएनए युकेले आधिकारिक रूपमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाल सरकार र सरकारका एकजना चर्चित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विरुद्ध बिरोधको जेहाद छेडेको छ । हिजो जुन १३ तारिख लन्डनमा पत्रकार सम्मेलन गर्दै एनआरएनए जस्तो सबैको साझा र गैर राजनैतिक संस्था सरकारका विरुद्ध गैर जिम्मेवार रूपमा बिरोधमा उत्रिएको टिप्पणी भएको छ ।

पत्रकार सम्मेलनमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठीले नेपाल सरकार र मन्त्री पण्डितको चर्को आलोचना गरेका थिए । तर चार दर्जन जतिको कार्यसमितिका अध्यक्ष, महासचिव र अरु दुई पदाधिकारीहरु बाहेक अधिकाश पदाधिकारी र सदस्यहरु भने पत्रकार सम्मेलनमा अनुपस्थित थिए । पत्रकार सम्मेलनमा किन नजानु भएको भनेर एक पदाधिकारीलाई सोध्दा ‘के को पत्रकार सम्मेलन हो मलाई त थाहा भएन भनेर उल्टो प्रश्न गरे ।’

कुरोको चुरो

मन्त्री लालबाबु पण्डितले विदेशी नागरिकता लिइसकेका नेपालीहरु भावनात्मक रूपमा बाहेक कानुनीरूपमा अब नेपाली नरहेको र उनीहरु भूतपूर्व नेपाली भएको भन्ने टिप्पणीको प्रतिकार गर्ने भन्दै पत्रकार सम्मेलन गरिएको बताइएको थियो । नेपाली मुलका विदेशी नागरिकलाई दोहोरो नागरिकता (नागरिकताको निरन्तरता) को सुबिधा दिने कि नदिने भन्ने वहस भइरहँदा एनआरएनए युके यसरी एक्कासी पत्रकार सम्मेलन नै गरेर सरकारविरुद्ध उत्रिनु रहस्यमय र आश्चर्यजनक मानिएको छ ।

जानकारहरु यसमा राजनैतिक स्वार्थ र एनआरएनए भित्रको राजनीतिक दाउपेच लुकेको बताउंछन् । लामो समयदेखि दोहोरो नागरिकताका लागि लविङ गरिरहेका एक अगुवाले चिन्ता प्रकट गर्दै भने-‘यस्तै हचुवा काम गर्दै जाने हो भने परिणाम प्रतिउत्पादक र अभियान तुहिन पनि सक्छ ।’ उनले अघि थपे, ‘यो विद्यार्थी, मजदुर वा कामदारले गर्ने जस्तो बिरोध वा आन्दोलन होइन, यसमा त सरकारलाई बिश्वासमा लिएर कुटनैतिक ढङ्गले काम गर्नु पर्ने विषय हो, साथीहरूको ताल कलेजको युनियन शैली छ ।’

पत्रकार सम्मेलनका बारेमा एनआरएनए केन्द्रका एक पदाधिकारीसंग सम्पर्क गरि सोध्दा उनले अनभिज्ञता प्रकट गरेर भने-‘एनआरएनए अन्तर्राष्ट्रिय परिषदको अहिले नेपाल सरकारको विरोध वा गतिविधि गर्ने सोचाइ नरहेको बरु सरकारसंग सहकार्य र हातेमालो गरेर नै अघि बढ्ने योजना छ ।’

एनआरएनए युकेले केन्द्रीय नीति विपरित गतिविधि गरे उसलाई सोधनी गरिने उनको थप प्रतिक्रिया थियो ।

लेखक थापा

किन गरियो एक्कासी पत्रकार सम्मेलन ?

सरकार र मन्त्री पण्डितविरुद्ध गतिविधि गरेपछि दोहोरो नागरिकताको प्रतीक्षा गरेका बिदेशमा रहेका नेपालीहरुको ‘सेन्टिमेन्ट क्याच’ गर्दै सस्तो लोकप्रियता आर्जन गर्ने कच्चा सोचाइ पनि हुन सक्छ भन्ने बिश्लेषकहरुको अनुमान छ । तर एनआरएनए युकेको दावी अलि फरक छ- ‘यहाँ भूतपूर्व गोर्खाहरु पचासौं हजारको संख्यामा छन्, उनीहरू धेरै जसो बेलायती नागरिक बनिसके, उनीहरूको दवाव हामीमा अलि बढी नै भएकोले हामीले छिटो कदम चाल्नु परेको हो ।’

यता एनआरएनए युके यो दावीलाई भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का एक पदाधिकारीले हाँस्यास्पद भन्दै यस्तो प्रतिक्रिया दिए, “हामी त गोर्खाहरुलाई समान तलब, सुबिधा, पेन्सन र पारिवारिक सेटलमेण्ट लागि बेलायत सरकारसंग लडिरहेका छौं, नेपाल सरकारले पनि सहयोग पुर्याइ दिओस, आवाज उठाइ दिओस भनेर आह्वान र माग गरिरहेका छौं, हामी ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्ने पक्षमा छैनौं ।”

आत्मघाती हुनसक्ने

दोहोरो नेपाली नागरिकताको अभियानमा एनआरएनए युकेका यस्ता अपरिपक्व र उत्तेजनायुक्त गतिविधि आत्मघाती हुन पनि सक्छ । जसरी बिदेश आएर त्यो देशको नागरिकता लिन कानुनी र बैधानिक प्रक्रियाहरु सालिनतापूर्वक पूरा गरिएको हुन्छ, नेपालको हकमा चैं किन त्यो हुँदैन ? सरकारलाई धम्क्याएर, आन्दोलन गरेर बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतको नागरिकता मिलेको हो कि राज्यका सबै प्रक्रिया पूरा गरेर चेकजाँच गरेर पाएको हो ? नेपाल सरकारको हकमा चैं किन आन्दोलन र बिरोध कै बाटो ? मन्त्री पन्डितले केही उग्र अभिव्यक्ति दिए भन्दैमा प्रधानमन्त्री लगाएर मन्त्री हटाउने जस्ता अपरिपक्व कुराले पाएको, पाउन लागेको चीज पनि गुम्न सक्छ ।एनआरएनएका अगुवाहरु सचेत हुन जरुरी छ ।

(टिप्पणीकार थापा युरोप नेपाली डटकमका संस्थापक/प्रधान सम्पादक हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री