बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०९:३९ | UK Time: 04:54

बेलायतको नेपाली समाजका ‘रोलमोडल’
 बाटै सामाजिक सञ्जाल दुरुपयोग

श्याम लुईंटेल
२०७५ असार ५ गते १४:२०

लन्डन । सामाजिक सञ्जालको सही प्रयोगले विश्वभर छरिएर बसेका मानिसहरु एउटै परिवारमा बसेको भान हुन्छ । अझ भनौ, विश्वभरका मानिसहरु एउटै गाउंमा बसोवास गरेका छन् र चाहिएको बेला प्रत्यक्ष कुराकानी गर्न सम्भव भएको छ । इन्टरनेटले नै विश्वलाई एउटा सानो गाउं (ग्लोवल भिलेज) बनाउन सहयोग गरेको छ । त्यसलाई जोड्ने कडीका रुपमा आएको छ सामाजिक 
सञ्जाल ।

धेरै सामाजिक सञ्जाल मध्ये झण्डै दुई बिलियन प्रयोगकर्ता भएको र सबैभन्दा बढि हेरिने फेसबुक विना अहिले धेरै काम अधुरो जस्तै हुन थालेको छ । यसका संस्थापक मार्क जुकरवर्ग धन्य छन् जसले विश्वलाई एकैठाउंमा एकजुट गराए ।

फेसबुक मार्फत धेरैले फाइदा पनि लिएका छन् नेटवर्क र विजनेशका हिसाबले । आफ्ना कुरा स्वतन्त्र रुपमा अभिव्यक्त गर्न र फोटोहरु अपलोड गर्न पाइएको छ । यही कारण दैनिक रुपमा फेसबुक प्रयोग गर्नेको संख्या वृद्धि हुंदै गएको छ ।

फेसबुकको सकारात्मक पक्षसंगै यसको दुरुपयोग पनि बढेको छ । यही दुरुपयोग र मानिसका गोप्य विवरण ‘लिक’ भएको भन्दै मार्क जुकरवर्ग अमेरिकी संसदसम्म पुगेर माफी माग्न वाध्य भए ।

उदाहरणका लागि केही स्क्रीनसट

सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबारे विश्वभर तर्क वितर्क भइरहंदा बेलायतस्थित नेपाली समाजका अगुवाहरुतिर लेख केन्द्रित गर्न खोज्दैछु म । आफूलाई बेलायतस्थित नेपाली डायस्पोराको रोलमोडल वा सर्वमान्य ठान्ने केही सज्जन व्यक्तित्व कसरी सामाजिक सञ्जालमा ‘तुच्छ अभिव्यक्ति’ दिएर प्रस्तुत हुन्छन् भन्ने सन्दर्भ केलाउन खोजिएको हो ।

प्रसंग छ- गत मे महिनामा सम्पन्न नेपाल पत्रकार 
महासंघ यूके शाखाको निर्वाचन । उक्त निर्वाचनमा केही ‘इन्ट्रेस्ट ग्रुप’ ले आफ्नो फाइदाका लागि पत्रकार र सामाजिक सञ्जालको निक्कै दुरुपयोग गरे । लाग्थ्यो, प्रत्येक पोस्ट वापत पैसा तिर्नु पर्ने भएको भए ति हच्कन्थें । बेलायतको नेपाली समाज हांक्छु भनेर स्वयंलाई ‘रोलमोडल’ ठान्नेहरुले दैनिकजसो विष वमन गरे, व्यंग्य हाने, धम्की थिए अनि तुच्छ स्टाटस पनि लेखे ।

लेखक लुईंटेल

म यहां बेलायतको नेपाली समाजका चर्चित तीन पात्रलाई प्रस्तुत गर्दैछु । धेरैलाई लाग्छ, उनीहरु रोल मोडल, जाने बुझेका र वुद्धिजिवी हुन् । बेलायतको विभिन्न नेपाली संघसंस्थाको नेतृत्व गरिसकेका तीन जना पात्रले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति लगभग बेलायती नेपाली समाजको यथार्थ चित्रण गर्छ ।

पहिलो पात्र छन्, चिरन शर्मा । उनको खास नाम देवराज आचार्य भएपनि चिरनबाटै परिचित छन् उनी । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय 
परिषद्मा समाचार उत्पादन र प्रचार प्रसार गर्ने उनको जिम्मेवारी । नेपाल ब्रिटेन डटकमका पनि उनी संस्थापक सम्पादक हुन् ।

दोश्रो, रामशरण सिम्खडा । विश्वभर फैलिएका नेपालीलाई एकतावद्ध गर्ने अभियानमा सांगठनिक उपस्थिति देखाएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य सिंखडाले बेलायतका कयौं संघसंस्थामा राम्रै ‘पोजिसन होल्ड’ गरेका छन् ।

तेश्रो पात्र छन् खुशी लिम्बु । पहिचानवादी नेता, पत्रकार, कांग्रेसी कार्यकर्ता लिम्बु । गैरआवासीय नेपाली संघ बेलायतका पूर्व प्रवक्ता तथा नेपाल जनजाती पत्रकार महासंघ यूकेका महासचिव खुसी लिम्बुका अरु पद उल्लेख गर्दा लामै लिष्ट बन्छ, भनौं उनी आवद्ध नरहेको संस्था कमै छ ।

विभिन्न व्यंग्य, कथा कविताको माध्यमबाट १९ मेमा तय भएको पत्रकार महासंघ यूकेको निर्वाचन बिथोल्ने, पत्रकारलाई उक्साउने वा कुनै विशेष उम्मेदवारलाई बोकेर हिंड्ने कार्यमा सिम्खडाले आफूलाई दैनिक जसो व्यस्त बनाइरहे ।

महासंघको नेतृत्वमा टिका थाप्ने दिवा सपना नदेख्न चेतावनी दिंदै सिम्खडाले धम्क्याउने शैलीमा दैनिक लामा लामा स्टाटस लेखिरहे । उनको कथाले धेरैलाई आकर्षित पनि गरयो किनकि स्टाटस खस्ने वित्तिकै लाइक, कमेन्टस आइहाल्थ्यो । महासंघमा टिका लगाउन रोक्ने खेलमा लागिरहंदा सिम्खडाले आफैंले एनआरएनए आइसीसी सदस्यमा टिका थापेको चाँही ख्याल गरेनन् ।

सामाजिक सञ्जालमा यति तल्लोस्तरमा ओर्लिनु हुंदैन भनेर स्टाटसमा कसैले प्रतिक्रिया दिएको देखिएन । अगुवा भनिनेले जे भन्छन् त्यहि ठिक भन्ने शैलीमा बेलायतको नेपाली समाज देखापरयो । एनआरएनए आइसीसी सदस्य सिम्खडा विगतमा एनआरएनए यूकेका राष्ट्रिय महासचिव तथा तत्कालिन एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष र हाल यूरोप प्रतिनिधि पनि हुन् ।

गैरआवासीय नेपाली संघ यूरोपस्तरीय सम्मेलनमा मिडिया परिचालनको जिम्मा लिएका देवराज आचार्य 
(चिरन शर्मा) ले फेसबुकमा प्रयोग गरेको भाषाले उनको वौद्धिक स्तर प्रष्ट झल्कन्छ । नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने बित्तिकै शर्माले सामाजिक सञ्जालमा तल्लोस्तर र पदीय 
हैसियत बिर्सिएर स्टाटस लेखे । विश्वमा नेपालीले गरेका राम्रा सामुदायिक कामको प्रचार प्रसार गर्न, विदेशको बुद्धि, सीप र क्षमतालाई कलम मार्फत नेपालमा आकर्षित गर्न र आपतविपतमा एकजुट हुन उत्प्रेरित गर्न सक्ने भूमिकामा रहेका आचार्यले फेसबुकमा लेखेका शब्दहरु अध्ययन गर्ने हो भने उनलाई एनआरएनए आइसीसीले कस्तो व्यक्तिलाई यूकेबाट न्युज को-ओर्डिनेटरको जिम्मा दिएर पदमा मनोनित गरेछ भन्ने प्रश्न उठ्छ । उनी व्यक्तिगत क्षमता भन्दा पनि शक्ति केन्द्र रिजाएर पदमा मनोनित भएको प्रस्टै हुन्छ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, बद्री केसी, डा. हेमराज शर्मा वा शक्तिमा रहेका प्राय सबैका बारेमा विभिन्न लेख लेखिसकेका र आफ्नो ठूलो पहुंच भएको बताउने आचार्य बेलायतस्थित नेपालव्रिटेन डटकमको संस्थापक सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष र सल्लाहकार समेत हुन् ।

जनजाती पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल जनजाति पत्रकार महासंघ यूकेका महासचिव लिम्बुको भाषालाई हेर्ने हो भने उनले जे बोले पनि हुन्छ भन्ने देखिन्छ । पत्रकार हुनुमा निकै दम्भ देखिन्छ उनमा । कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति यूकेका प्रवक्ता र नेपाल आदिवासी जनजाती महासंघका महासचिव समेत रहेका लिम्बु कसरी ति फोरममा पुगे आश्चर्यजनक छ ।

उल्लेखित पात्र त प्रतिनिधिमात्र हुन् । तर, यसले डायस्पोराको नेपाली समाजको नेतृत्व कस्तो मानिसका हातमा रहेछ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । आगामी दिनमा यस्ता मानिस संलग्न भएका कार्यक्रम र संघसंस्थाले कस्तो ज्ञान, सीप नेपालमा हस्तान्तरण गर्लान् ?

सामाजिक उत्तरदायित्वको अभाव
आफ्नो अनुसन्धानलाई निखार्दै हालै एबरटे यूनिभर्सिटीबाट डिजिटल मार्केटिङमा विद्यावारिधि गरेका मिन भण्डारी नेपाली समाजका अगुवाले ‘इमोसन’ र ‘इगो’ नियन्त्रण गर्न नसकी तत्काल फाइदाका लागि ‘रियाक्ट’ गर्दा तल्लोस्तरका भाषा सामाजिक सञ्जालमा प्रयोग गरिरहेको 
बताउंछन् ।

मानिसले सिकेको ज्ञान, संस्कृति र कार्यशैलीले उसको क्षमता प्रदर्शन गर्ने भएकाले यस्ता समस्या सामाजिक सञ्जालमा बेलाबेलामा देखिने गरेको भण्डारीको बुझाइ छ ।

उनका अनुसार व्यक्तिहरु आफूले हासिल गरेको शिक्षा, उनीहरु बसेको समाज र उनीहरुले सिकेको संस्कृतिलाई सामाजिक सञ्जालमा व्यक्त गर्छन् तर आवेश वा आक्रोशमा गर्दा त्यो दुरुपयोग हुन पुग्छ ।

बेलायतस्थित लिड्स विश्वबिद्यालयका प्रोफेसर डा. सूर्य सुवेदी आफू सामाजिक सञ्जालमा नरहेपनि यो प्लेटफर्मको सही सदुपयोग हुनुपर्नेमा जोड दिन्छन् । एउटा सभ्य र विकसित बेलायती समाजमा बसेर अरुलाई पनि मार्गदर्शन गर्नुपर्नेमा उल्टो केही व्यक्ति एक अर्कालाई दोषारोपण गर्न, गाली गलौज गर्न, होच्याउन लागि पर्नु विडम्बना भएको डा. सुवेदीले बताए । केही वर्ष अघि उनी पनि सामाजिक सञ्जालमा घृणित अभिव्यक्तिको शिकार भएका थिए ।

सुवेदीले एनआरएनए यूके लगायत संघसंस्थाले आफ्नो युनिभर्सिटीको इमेलमा समेत नानाथरि म्यासेज पठाएर वाक्क पारेको पनि गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक