लर्डसमा फेरि नेपाल टिम, छुटाउनै नहुने अवसर

लन्डन । नेपाल क्रिकेट टिम दोश्रो पटक विश्वकै प्रतिष्ठित लन्डनको लर्डस क्रिकेट मैदानमा उत्रिन अब थोरै समय बांकी रहंदा बेलायतवासी नेपाली उक्त खेल सफल बनाउन जुटेका छन् । बेलायतको नेपाली डायस्पोराले मैदानमा उपस्थित भएर नेपाली टिमको हौसला बढाउन सबैमा आव्हान गरिरहेको छ ।

विशेषगरि लन्डनस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ बेलायत, तमुधिं यूके, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यूके, मगर संघ यूके, पोखरेली मञ्च यूके जस्ता संस्थाहरु कम्तीमा दश हजार दर्शक उतार्न अहिले टिकेट बिक्रीमा लागिरहेका छन् ।

दुई साताअघि लन्डनमा रहेका बेला कप्तान पारस खड्काले यहां विभिन्न भेटमा जुलाइ २९ को खेलमा उत्साहजनक सहभागिता जनाइ नेपाली खेलाडीलाई हौसला प्रदान गर्न नेपाली डायस्पोरासंग अपिल गरेका थिए । दर्शक उपस्थिति उल्लेख्य भए त्यसले नेपाल टिमलाई कालान्तरमा लाभ हुने र नेपाललाई 
हेर्ने दृष्टिकोण समेत सकारात्मक हुने आशा पारसको थियो ।

झण्डै दुई वर्षपछि आगामी २९ जुलाई आइतबार नेपाली क्रिकेट टिम लर्डस (होम अफ क्रिकेट) मा उत्रन लागेको हो । नेपाल अहिले ‘ओडिआइ’ स्टयाटसमा रहेकाले पनि यसपटकको खेल बढि रोमाञ्चक हुने विश्वास गरिएको छ ।

एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा हुने त्रिकोणात्मक टि ट्वान्टी खेल कसरी सफल बनाउने भन्ने सन्दर्भमा गत साता लन्डनस्थित नेपाली दूतावासमा एक छलफल समेत भयो । राजदूत डा. दुर्गाबहादुर सुवेदीले आव्हान गरेको उक्त छलफलमा बेलायतस्थित प्रमुख संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

छलफलमा उक्त खेल नेपाल र नेपालीको गौरव अनि प्रतिष्ठासंग 
गांसिएकाले भव्य रुपमा सफल बनाउन आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने निष्कर्ष निकालिएको एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले जनाए ।

सहभागिताका लागि एनआरएनए यूकेको आग्रह

एनआरएन यूकेले दुई वर्ष अघि लर्ड्समा नेपालले पहिलो पटक खेलेका बेला उल्लेख्य सहभागिता जनाइदिएकामा बेलायतबासी नेपालीलाई धन्यवाद दिंदै पुनः जुलाई २९ मा पनि सहभागिताको लागि आग्रह गरेको छ ।

एनआरएन यूकेको तर्फबाट महासचिव आरके त्रिपाठीले मंगलबार एक वक्तव्य जारी गर्दै लर्डस पुगेर नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाइदिन अपिल गरेका छन् ।

नेपाली खेलाडीहरुले विश्वका जुनसुकै ठाउंमा पुगेर खेल्दा पनि नेपालको प्रतिनिधित्व गर्दै देशको गौरव बढाएका उल्लेख गर्दै वक्तव्यमा पछिल्ला केहि वर्षमा खेलाडीहरुको अथक मेहनत र समर्थकहरुको साथबाट नेपाली क्रिकेटले ठूलो फड्को मारेको उल्लेख छ । अहिले नेपाल क्रिकेटका लागि विश्वमै उत्कृष्ट देशहरुमध्येको एक बन्न सफल भएको त्रिपाठीले जनाएका छन् ।

एनआरएनए यूकेको वक्तव्य-

प्रतिक्रिया

सम्बन्धित सामाग्री