प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङमा बिहीबार बिहान नेपाल–चीन मैत्रीपूर्ण दौड २०१८ को उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रतिनिधि र चिनियाँ उच्च अधिकारीहरु । तस्वीर – हरि लामिछाने, बेइजिङ, रासस

बेइजिङ, चीन, ७ असार – चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो ।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो ।

उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गर्नुभयो । सो अवसरमा उहाँले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बिन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताउनुभयो ।

प्रतियोगितामा नेपाल र चीनका गरी तीन दर्जनबढी युवा सहभागी थिए ।

ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुहुँदै । साथमा धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, सांसद र सरकारी उच्च अधिकारीहरु । तस्वीर – हरि लामिछाने, बेइजिङ, रासस

प्रधानमन्त्री ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुभयो ।

सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गर्नुभएको हो । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।

अवलोकनका क्रममा उहाँका धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।

पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ ।

माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ । प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदै हुनुहुन्छ भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री