पहिलो नेपाल लोक आइडल 
प्रतियोगितालाई बेलायतवासीको साथ

लन्डन । नेपालको इतिहासमै पहिलोपटक गर्न लागिएको नेपाल लोक आइडल २०७५ प्रतियोगिता नजिकिएसंगै बेलायतबाट समेत यसको प्रचार प्रसार शुरु भएको छ ।

नेपाली लोक संस्कृति जगेर्ना र नव प्रतिभाहरुलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले पहिलो पटक गर्न लागिएको लोक आइडल प्रवर्धन गर्न बेलायतवासी नेपाली जागरुक भएका 
हुन् । नेपाल लोक आइडल आयोजक समितिको प्रचार विभाग सदस्य तथा एनआरएनए यूके उपाध्यक्ष ललितकुमार न्यौपानेको पहलमा बिहीबार सांझ लन्डन प्लमस्टिडमा एक पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम सफल बनाउन बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् ।

गोर्खा क्लब रेष्टुरेन्टमा उपस्थित नेपाली सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिमाझ न्यौपानेले निकट भविष्यमा आयोजना हुन लागेको नेपाल लोक आइडल २०७५ का सम्बन्धमा विभिन्न जानकारी दिए ।

न्यौपानेले नेपालको सार्थक डिजिटल प्रा लि र जेब्रा क्रिएसनको संयुक्त आयोजना रहने नेपाल लोक आइडल लुकेर बसेका लोक संगीतका प्रतिभा खोज्ने पहिलो देशव्यापी कार्यक्रम रहेको जनाए । देशभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशका प्रतिभाहरुलाई एकत्रित गर्दै उनीहरुभित्रको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्य 
प्रतियोगिताको छ ।

७ वटै प्रदेशमा पहिलो चरणमा लोकप्रतिभाहरुको छनौट गर्ने र उनीहरुमध्येका उत्कृष्ट १० लाई काठमाडौं ल्याएर प्रशिक्षण गराएर अघिल्ला चरणको प्रतिस्पर्धा गराउने आयोजकको सोच छ ।

प्रतियोगिताका पहिलो विजेतालाई नगद ३० लाख रुपैंया, ट्रफी र प्रमाणपत्रसहित उनीहरुको आवाजमा विभिन्न गीत रेकर्ड गराएर म्यूजिक भिडियो निर्माण गरिने आयोजकको दावी छ । दोस्रो हुनेलाई नगद १५ लाख रुपैयां तथा तेस्रो हुनेलाई नगद १० लाख सहित प्रमाणपत्र, ट्रफी र उनीहरुको पनि गीत रेकर्ड गराएर म्यूजिक भिडियो निर्माण गरिने बताइएको छ ।

पहिलो चरणमा प्रदेश स्तरमा हुने अडिसनका मुख्य झलकहरु तथा दोस्रो चरणदेखिका सम्पूर्ण छनौट कार्यक्रम राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गरिने छ ।

नेपाल लोक आइडलको प्रवर्धनका लागि लण्डनमा आयोजित कार्यक्रममा यस प्रतियोगिताका प्रचार विभाग सदस्य तथा एनआरएन यूके उपाध्यक्ष न्यौपानेले नेपालमा लोकसंगीत क्षेत्रका प्रतिभाहरु खोज्न यति ठूलो कार्यक्रम हुन लागेको पहिलो अवसर भएको बताए ।
‘लोक गीत-संगीत भनेको हाम्रो संस्कृति हो । हाम्रो पहिचान र जीवनशैली पनि हो’- न्यौपानेले भने, ‘त्यसकारण पनि नेपाल लोक आइडल एउटा विशुद्ध गायन प्रतियोगिताभन्दा पनि नव प्रतिभाका लागि अनेक अवसर हो भन्ने हामीलाई विश्वास छ ।’

कार्यक्रमको अवधारणा र उद्देश्यबाट प्रभावित भएर आफू पनि यसमा आवद्ध भएको बताउंदै न्यौपानेले लन्डनमा प्रवर्धनका लागि कार्यक्रम गरिएको जानकारी गराए । बेलायतबासी नेपाली समुदायभित्र लुकेर बसेका प्रतिभाहरु भए उनीहरु पनि नेपाल गएर राष्ट्रिय स्तरको प्लेटफर्मको सदुपयोग गर्न सकुन् भन्ने आफ्नो चाहना रहेको न्यौपानेले बताए ।

कार्यक्रममा बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, एनआरएन अगुवा तथा युवा समाजसेवी विनोद ज्ञवाली, पासा पुच यूके अध्यक्ष कुमार श्रेष्ठ, पशुपति मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, रोयल 
ग्रीनवीच नेपाली सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ, 
एनआरएनए यूके सचिव सुरोज मास्के, इनास ग्लोवलका महासचिव मनिषकुमार श्रेष्ठ, प्रतिभा नक्षेत्रका परिकल्पनाकार राजेन्द्र खस लगायतले नेपाल लोक आइडलको अवधारणा सरहानीय रहेको भन्दै यसको सफलताका लागि शुभकामना दिए ।

उपस्थित पत्रकार तथा सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुमा प्रतियोगिताका प्रचार विभाग सदस्य तथा एनआरएनए यूके उपाध्यक्ष न्यौपानेले जवाफ दिएका थिए । सोहि अवसरमा न्यौपानेले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोवलका महासचिव मनिषकुमार श्रेष्ठ र यूके अध्यक्ष रजनी सुनुवारलाई नेपाल लोक आइडलका तर्फबाट निमन्त्रणा पत्र हस्तान्तरण गरे ।

कार्यक्रम सञ्चालक डा. मुकुन्द बास्तोलाले नेपाल लोक आइडलका प्रबन्ध निर्देशक जिवन पन्तको वक्तव्य पढेर सुनाएका थिए ।

कार्यक्रममा झण्डै १ दर्जन नेपाली सञ्चारकर्मी साथै पासा पुच गुठी लन्डन साउथ इष्टका अध्यक्ष सुशील प्रजापति, नेपाली युथ एशोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ, प्रतिभा नक्षेत्र अध्यक्ष सिम्मी पुन, एनआरएनए यूके कार्यसमिति सदस्यहरु अर्कराज तिम्सिना र जित रानाभाट, तिलक भट्टराई लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री