काठमाडौं महानगरको बजेट १३ अर्ब

काठमाडौँ महानगरपालिकाको नगर सभा तथा तेस्रो अधिवेशनमा आर्थिक वर्ष २०७५–०७६ को बजेट वक्तव्य प्रस्तुत गर्दै कामनपाका प्रमुख विद्या सुन्दर शाक्य । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आइतबार आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ) ले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख अनुमान गरिएको छ ।

त्यसैगरी वडास्तरमा पूर्वाधार निर्माणमा रु तीन अर्ब छ करोड २५ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड, शिक्षामा रु एक अर्ब १० करोड ४६ लाख र हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणमा रु ५१ करोड ६७ लाख विनियोजन गरिएको छ ।

कामपाले भवन निर्माण र सवारी सधान तथा अन्य सम्पत्ति खरिदमा रु दुई अर्ब ३६ करोड एक लाख, मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालयलगायतको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न रु १५ करोड १० लाख बजेट छुट्याइएको छ ।

चालू आवको तुलनामा आगामी आवको बजेट रु एक अर्वले बढी हो । कामपाले चालू आव २०७४-७५ का लागि रु १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । चालू आवको वैशाख मसान्तसम्ममा रु तीन अर्ब २८ करोड ८४ लाख ७ हजार खर्च गरेको छ । जुन अनुमानित खर्चको २५ दशमलव ५३ प्रतिशत हो ।

त्यसैगरी चालू आवमा रु १२ अर्व ८७ करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ रु पाँच अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट रु सात अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो । चालु आवको वैशाख मसान्तसम्ममा आन्तरिक आयतर्फ रु एक अर्ब ५९ करोड ७३ लाख र बाह्यतर्फ दुई अर्व ७४ करोड ५१ लाख गरी कूल रु चार अर्ब ३४ करोड २४ लाख राजस्व असुल गरिएको छ । यो अनुमानित आम्दानीको ४२ दशमलव २७ प्रतिशत हो ।

चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ ।

महानगरमध्ये भरतपुरको बजेट सबैभन्दा कम

चितवन, ११ असार – नेपालका पाँच वटा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम देखिएको छ ।

भरतपुर महानगरपालिकाले आव २०७५-०७६ का लागि रु तीन अर्ब ३४ करोड पाँच लाख आयव्ययको प्रस्ताव गरेको छ । जसमध्ये पूँजीगतभन्दा चालू खर्च बढी छ ।

चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१ दशमलव शुन्य चार प्रतिशत तथा पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् कुल बजेटको ४८ दशमलव ६६ प्रतिशत रहेको छ । भरतपुर महानगरको आन्तरिक आम्दानी रु ५५ करोड अनुमान गरिएको छ ।

नेपालमा काठमाडौँ, भरतपुर, पोखरा लेखनाथ, बीरगञ्ज, विराटनगर र ललितपुर गरी ६ वटा महानगरपालिका छन् ।

तीमध्ये ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेको छैन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको सो महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने निर्णय गरेको पनि जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । जसमध्ये आन्तरिक आय रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार छ ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाले रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट प्रस्ताव गरेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु एक अर्ब ६९ करोड ९० लाख अनुमान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको बजेट प्रस्ताव गरेको छ । तीमध्ये चालु खर्चतर्फ २९ दशमलव एक प्रतिशत र पूँजीगत खर्चतर्फ ७० दशमलव ६ प्रतिशत रहेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु ५९ करोड ५३ लाख ६० हजार अनुमान गरिएको छ ।

यस्तै विराटनगर महानगरपालिकाले रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्ताव गरेको छ । जसको आन्तरिक आय रु ५४ करोड तीन लाख रहेको छ ।

महानगरपालिकाले सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम रहेको तथ्याँकले देखाउँछ ।

भरतपुर महानगरमा २९ वडा रहेका छन् । जसमध्ये धेरै वडा ग्रामीण क्षेत्रमा पर्दछन् । जसका कारण विकास निर्माणमा ती क्षेत्रमा बजेटको बढी माग हुने गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अन्य महानगरपालिकामा विदेशी दाताको लगानीमा सञ्चालित परियोजनाको रकमसमेत बजेटमा रहेकाले भरतपुरको बजेट आकार सानो देखिएको बताउनुभयो ।

उहाँले आन्तरिक आम्दानीमा विराटनगर र वीरगञ्ज महानगरपालिकाको हाराहारी रहेको बताउँदै करको दायरा फराकिलो बनाउँदै आम्दानी बढाउनेतर्फ महानगर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी प्रदेश र संघीय सरकारका मन्त्रालयमा बजेट माग गर्ने बताउनुभयो ।

यस महानगरपालिकाभित्र औद्योगिक क्षेत्र नहुनु, पर्यटन व्यवसाय कम हुनुलगायतका कारण आन्तरिक आय कम भएको बताउँदै प्रमुख दाहालले आम्दानी बढाउनका लागि उत्पादनमूलक क्षेत्रको विकासका लागि महानगर लाग्ने छ भन्नुभयो ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाहले आन्तरिक आम्दानी कम भएका कारण बजेट सानो भएको बताउनुभयो । उहाँका अनुसार चालू आवमा आन्तरिक आम्दानी ३० करोड हाराहारी पुग्ने अनुमान छ ।

आउँदो वर्षका लागि प्रस्तावित गरिएको रु ५५ करोड आफैँमा ठूलो लक्ष्य लिइएको उहाँले बताउनुभयो । सबैको साथ र सहयोग रहेमा आम्दानी बढाएर विकास निर्माणमा जुट्न सकिनेमा उपप्रमुख पार्वती शाहको विश्वास छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले महानगरलाई उत्कृष्ट बनाउन आर्थिक कारण मात्रै नभएर व्यवस्थापकीय विषय पनि महत्वपूर्ण हुने बताउनुभयो ।

करको दायरा फराकिलो बनाउँदै एकातर्फ राजस्व बढाउनुपर्ने र अर्काेतर्फ कम लागतमा हुने काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा आम्दानी बढाउन सकिने बताउनुहुन्छ । उहाँले विकास निर्माणमा भन्दा उत्पादनमूलक क्षेत्रमा महानगरले बढी ध्यान दिन सकेमा आउँदा वर्षमा आन्तरिक आय बढ्ने धारणा व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाका अधिकांश भाग चितवनको क्षेत्र नं ३ मा पर्दछ । यस क्षेत्रबाट पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुनुभएको छ । जसका कारण केन्द्रीय सरकार र प्रदेश सरकारबाट थप बजेट आउने आशमा नगरबासी छन् ।

यसअघि दाहालकै पहलमा दुई अर्बभन्दा बढी बजेट निकासा गरी विकास निर्माणकोे काम हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री