उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं-विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । छैटौ पटक विश्वकपको सेमिफाइनमा पुगेको फ्रान्सले शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा दुई पटकको विश्व विजेता उरुग्वेको चुनौती पार गरेको हो ।

कडा प्रतिस्पर्धी मानिएको उरुग्वेमाथि जित हात पार्ने क्रममा फ्रान्सले ४० औं मिनेटमा एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा डिफेन्डर राफायल भारानको हेड गोलमार्फत अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफको ६१ औं मिनेटमा ग्रिजम्यानले हानेको सशक्त प्रहार उरुग्वेका गोलकिपरको हातबाट फुत्केर गोलमा परिणत भएको थियो ।

अनुभवी स्टाइकर इडिन्सन काभानी बिनै मैदानमा उत्रिएको उरुग्वेले पहिलो हाफमा गरेको सशक्त प्रहार फ्रान्सका गोलकिपर हुगो लोरिसले उत्कृष्ट बचाउ गरेका थिए ।

अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनमा आज राति हुने ब्राजिल र बेल्जियमबीचबाट विजेता बन्ने टोलीको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री