काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।
‘‘ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित छ’’, उनले भने, ‘‘हाम्रा शहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलाले सजिएका छन् । ’’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई ब्युंत्याइ अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।
उनले विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्दै प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको बताए । उनले प्रतिष्ठान राष्ट्रका प्रवुद्ध व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए ।
अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने उनको भनाइ थियो । उनले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताए ।
नेपाल कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने उनले बताए । प्रधानमन्त्रीले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सबै जुट्न आवश्यक रहेको धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपाल र भारतबीचमा धेरै कुराले गति लिएको बताए । ‘‘हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौं’’, उनले भने–‘‘सीमा, व्यापारलगायत क्षेत्रका समस्यासमेत समाधानको काम समेत अगाडि बढेको छ ।’’
भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा बाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उनले उल्लेखनीय योगदान पुरयाएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधारको विकाससँगै प्राज्ञिक क्षेत्रको गतिविधि बढाएर संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले पुस्तकालयले नेपाल र भारत बीचको सम्बन्धलाई साहित्यबाट जोड्न सहयोग पुरयाउने बताए ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको उल्लेख गदै साहित्यमा थप सम्बन्ध बढाउनका लागि पुस्तकालयले भूमिका खेल्ने बताए । उनले भारत सरकारले नेपालमा सम्पन्न गर्ने आयोजना चाँडै नै पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकालयले संस्कृति र साहित्यमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बताए । उनले संस्कृतिको विकासका लागि प्राज्ञिक क्षेत्रको विकास आवश्यक रहेको धारणा राखे । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल रु चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए ।
कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बैंक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन् । पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करीब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराए ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन गरे । जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले बताए ।