अल्डरसटमा पूर्व गोरखा सैनिक एक सातादेखि बेपत्ता

धनपति राइ

लण्डन । बेलायतको अल्डरसटबाट एक जना भूतपूर्व गोरखा सैनिक एक सातादेखि हराइरहेका छन् ।
७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत बुधबारदेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई गत बुधबार बिहान ७ बजेतिर अल्डरसटको किंग्स रोडमा देखिएको थियो ।
सोही दिनदेखि राई परिवार र साथीसंगीसित सम्पर्कविहीन भएको बताइएको छ । उनी यसरी सम्पर्क विच्छेद भएर कहिल्यै हिँड्ने गरेका थिएनन् ।
करिब ५ फिट ७ इन्च उचाइ भएका राई अलिअलि मात्र अंग्रेजी बोल्न सक्छन् ।
अन्तिम पटक देखिँदा उनले कालो पाइन्ट, हरियो लामो बाहुला भएको सर्ट र आस्कोट लाएका थिए । उनले गाढा रंगको बेसबल टोपी पनि लाएको बताइएको छ ।
ह्याम्पसायर प्रहरीका डिटेक्टिभ इन्सपेक्टर लि म्याकक्लिलानले भनेका छन्, ‘एक सातादेखि राई साथीभाइ र परिवारजनसित सम्पर्कविहीन हुँदा उनको अवस्थाका बारेमा हामीलाई गम्भीर चासो बढेको छ ।’
राईको खोजीका लागि व्यापक रुपमा प्रहरी अधिकृतहरु परिचालन गरिएको बताउँदै उनले अल्डरसट क्षेत्रका सबैलाई राईको बारेमा ध्यान दिन र कुनै पनि सूचना भए दिन पनि आग्रह गरेका छन् ।
‘हामीलाई थाहा छ कि उनलाई अल्डरसट टाउन बाहिरको सिजर क्याम्प क्षेत्रमा हिँड्न मन लाग्छ । साथै वेलिंगटनको प्रतिमा भएतिर पनि । यदि कसैले त्यो क्षेत्रमा जाँदा राईलाई देख्नुभयो भने हामीलाई ९९९ मा खबर गर्नुहोला’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री