दर्ता बिनै च्यारिटी, चन्दा संकलनमा मिडियादेखि समाजसेवीसम्म 

लन्डन । बेलायतको कानून विपरित चन्दा संकलनमा नेपाली समाजका वरिष्ठ भनिने समाजसेवीहरु नै अग्रभागमा देखिएका छन् । बेलायती कानून विपरित च्यारिटीमा संस्था दर्ता नगरि च्यारिटीको नाम बेचेर समाजसेवी भनिने व्यक्ति देखि निजी मिडिया सञ्चालकले समेत यसको दुरुपयोग गरेका छन् ।

नेपाली समुदायलाई केन्द्रित गरि बेलायतबाट संचालित एउटा निजी अनलाइन न्यूज पोर्टल नेपाल ब्रिटेन डटकमदेखि बुद्ध फाउन्डेसन यूकेसम्म अर्थ संकलनमा सकृय छन् । पत्रकारितामार्फत नेपाली समाजमा योगदान दिएको दाबी गर्ने नेपाल ब्रिटेन डटकमले आगामी जुलाईमा एक विद्यालयका लागि च्यारिटी गर्दैछ । आर्थिक अडिट नहुने निजी अनलाइन पोर्टलले उठाउने रकमका बारेमा पारदर्शीताको प्रश्न स्वभाविक उठनेछ । किनकि डायस्पोराका नेपाली भाषाका मिडिया आर्थिक संकटमा छन् । करिव १० वर्ष मिडिया चलाउंदा पनि आर्थिक रुपमा सवल हुन नसकेको नेपाल ब्रिटेन डटकमले उठाएको चन्दा कसरी सही सदुपयोग होला आशंकाको घेरामा छ ।

सो मिडियाले च्यारिटी कार्यक्रमसहित केही व्यक्तिलाई सम्मान गर्ने योजना बनाएको छ । यसअघि सो अनलाइन पोर्टलबाट आफैं सम्मान लिएका व्यक्ति रामशरण सिंखडा कार्यक्रम संयोजक छन् । उक्त अनलाइनका संस्थापक सम्पादक चिरन शर्मा (देवराज आचार्य) अहिले कार्यक्रम सफल बनाइदिन सबैमा अनुनय गरिरहेका छन् । अनलाइन सञ्चालकहरुको एउटा समूह बाहिरिएपछि शर्मा सम्मान कार्यक्रमको दायित्व आफूमाथिमात्र आइलागेको भन्दै सहयोगका लागि अपिल गर्दैछन् ।

कपिलवस्तुमा बृद्धाश्रम निर्माणका लागि वर्षैपिच्छे चन्दा संकलन गरेपनि हालसम्म बुद्ध फाउन्डेसन यूके च्यारिटीमा दर्ता भएको छैन् । केही व्यवसाय सञ्चालन गरिरहेका यसका अध्यक्ष दीपक श्रेष्ठ आफैं समाजसेवी हुन् । एनआरएनए यूके उपाध्यक्षमा पराजित श्रेष्ठ आफूले सकेको योगदान गर्न सधैं तयार छन् । तर, तिनै श्रेष्ठ पारदर्शीतामा भने चुकेका देखिन्छन् ।

जन्मभूमिमा बृद्धाहरुको सहयोगार्थ चन्दा उठाइरहेको आफ्नो संस्था गैर नाफामुलक भएको श्रेष्ठ बताउंछन् । तर क्वालिफाइड चार्टर्ड अकाउटेन्ट एलएन घिमिरेले सामाजिक कृयाकलाप बाहेक च्यारिटेवल कार्यका लागि रकम उठाउन संस्था च्यारिटीमा दर्ता हुनै पर्छ । उनका अनुसार च्यारिटीमा दर्ता नभई च्यारिटेवल कार्यका लागि सार्वजनिक रुपमा रकम उठाउनु कानून विपरित हो l व्यवसायी श्रेष्ठ नेतृत्वको बुद्ध फाउन्डेसन यूके च्यारिटीमा दर्ता छैन् तर पटक पटक च्यारिटी गरि रकम उठाउंदै आएको छ ।

धेरै संघसंस्था अझै पनि कानूनी रुपमा च्यारिटी दर्ता गर्न भन्दा पनि गैर नाफामुलक कार्य भन्दै प्राइभेट लिमिटेडमा दर्ता भएर चलेका छन् ।

किरात राई यायोख्या, किरात याक्थुम चुम्लुङ युके, २ महिना अघि मात्र करिव ५० लाख रकम उठाउन सफल पर्वत समाज च्यारिटीमा दर्ता छैन् । व्यक्ति व्यक्तिबीचमा कारोवार वा सहयोगका लागि च्यारिटीमा दर्ता अनिवार्य नभएको सिए घिमिरे बताउंछन् । उनका अनुसार सार्वजनिक रुपमा रकम उठाउने काम गर्न भने च्यारिटीमा दर्ता बेलायतको कानुनले अनिवार्य मानेको छ । त्यस्तो ‘टयाक्स पे’ गरेका मानिसबाट उठेको रकमलाई सरकारले उल्टो २५ प्रतिशत थप गरिदिने गरेको घिमिरेको भनाई छ ।

बेलायतका करिब २ सय संस्था च्यारिटी दर्ता प्रक्रियाबाट टाढा छन् । करिब एक लाख नेपाली बेलायतमा बसोवास गरिरहेका अनुमान गरिन्छ भने नेपालीले नै खोलेका करिब तीन सय संस्था बेलायतमा छन् । ति सबैले कुनै न कुनै वहानामा रकम उठाउने गरेका छन् ।

समाजसेवी डा. राघवप्रसाद धितालले च्यारिटीमा दर्ता नगरि नेपाली समुदायमाझ चन्दा उठाउने कार्य एक प्रकारको ठगी भएको बताए । ‘२५, २६ हजार पाउण्ड उठाउने अनि २० हजार पाउण्ड खर्च गर्ने कार्य भनेको ठगी हो’, डा. धितालले भने, कम खर्चमा बढी रकम जम्मा गर्नु पर्ने च्यारिटीको कामलाई पन्छाएर उठेको रकमबाट करिव ९० प्रतिशत खर्च गर्नु वदमासी हो ।’

समग्र नेपालीलाई भन्दा पनि भाषा, क्षेत्र, दल र जातका लागि पैसा उठाएर दुई चार जनाले व्यवसायको रुपमा च्यारिटीलाई प्रयोग गर्दै लगेको उनेको गुनासो छ ।

च्यारिटी दर्ताको आवश्यकता महशुस

आफ्नै ढंगले च्यारिटी गर्दा कानूनी झन्झट आइलाग्ने बुझेका केही संघसंस्थाले दर्तालाई पहिलो प्राथमिकतामा भने राखेका छन् ।

गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङले पारदर्शीताका लागि च्यारिटीमा जाने प्रक्रिया संस्थाले अघि बढाएको जनाए । त्यस्तै जातीय समाजका रुपमा चिनिएको क्षेत्री समाज पनि च्यारिटी दर्ता प्रक्रियामा अघि बढेको समाजका सदस्य नरेन्द्र बस्नेतले जनाए ।

करिव २५ लाख रुपैंया उठाएको नेपाल पत्रकार महासंघ बेलायत शाखाले अघिल्लो वर्षबाटै प्रतिवद्धता अनुरुप च्यारिटी दर्ता अघि बढाइ सकेको छ । यसको जिम्मा महासंघ यूकेका अध्यक्ष नरेश खपाङी मगरलाई दिइएको छ ।

वर्षमा दुई वा तीन वटा च्यारिटी कार्यक्रम गरि समाजसेवा गरिरहेको गैरआवासीय नेपाली संघ बेलायतले आर्थिक पारदर्शीता र चन्दा संकलनका लागि सहज बनाउन च्यारिटीमा दर्ता प्रक्रिया अघि बढि सकेको छ ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा दिएर अघि बढिरहेको एनआरएनए यूकेले वैधानिक रुपमा पैसा उठाउन च्यारिटीमा दर्ता प्रक्रिया सुरु गरेको हो । एनआरएनए यूकेका प्रवक्ता रमेश सराङकोटीले नेपालीलाई दुःखमा सहयोग गर्दै आएको यो संस्थालाई कानूनी रुपमा बलियो बनाउन लागिएको जनाए ।

जातीय संस्थाका रुपमा बलिया देखिएका तमुधिं यूके, मगर संघ यूके, चार भन्ज्याङ, तमु समाज यूके, ताप्लेजुङ समाज यूके, तमु प्ये ल्हु संघ यूके, यती नेपाली एसोसिएसन यूके, ग्रेटर रसमोर नेपाली कम्युनिटी लामो समयदेखि च्यारिटीमा दर्ता भइसकेका छन् l

त्यस्तै, मोना यूके, गोर्खाली समाज र क्षेत्री समाज यूके पनि दर्ता प्रक्रिया कार्यमा अघि बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री