भक्तपुरका कैयौं बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर – नविन पौडेल, रासस

भक्तपुर, २८ असार – अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौं बासिन्दा बिचल्लीमा परेका छन् ।

राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।

डुबानबाट अथाह क्षति 

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । भक्तपुरको राम मन्दिर र यहाँ सँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाइ बन्द भएको छ ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।

रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुरयाएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ । बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ । मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेको छ भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नाका साथै डुँगा सञ्चालन गरेर सुरक्षित स्थानमा पुरयाएको थियो । यहाँका बासिन्दा दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजारसमेत डुबानमा परेकाले सयौं व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छ ।

यता मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् ।

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर आइपछि अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमिको राधेराधेदेखि थिमि चोकसम्मको क्षेत्र । तस्बिर- रासस

सात घण्टापछि खुल्यो राजमार्ग 

डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए ।

तीनको मृत्यु, १५ घर भत्किए 

अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पुरयाएको क्षतिको अनुगमन गर्नुभयो । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।

नेपाली सेनाको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२ पुलबजारमा अविरल बर्षाको कारण डुबानमा फसेका चार जनाको उद्दार गर्दै । तस्बिर, सौजन्य- नेपाली सेना, रासस

काँग्रेसद्वारा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने-गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग काँग्रेसले आग्रह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानका कारणले देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको छ । गएराति परेको वर्षाले राजधानी नजिकैको जिल्ला भक्तपुर र काभ्रेलाई समेत प्रभावित पारेको छ । काठमाडौँ लगायत तीन जिल्लामा कैयौं घरहरु डुवानमा परेका छन् ।

यी तीन जिल्लामा खाद्य सामग्री भिजेर नष्ट भएको, विजुली बत्तिको असुविधा भएको र घरभित्रका व्यक्तिहरु बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन् ।

अझै तीन दिन देशभर वर्षा हुने

आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो ।

आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ ।

असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।

मौसमविद् शान्ति काडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताउनुभयो ।

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौँमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौँको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ ।

बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौँका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ । आज ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री