बोलेरो दुर्घटनामा पाँचको मृत्यु, देउवाद्वारा दुःख व्यक्त

चौतारा, २९ असार – सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नं को बलेरो जीप बिहीबार बेलुका ८.१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री