बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ ।

शिखर सम्मेलन आगामी भदौ १४ र १५ गतेको मितिमा सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भएसँगै सरकारले यसको तयारीलाई तीव्रगतिमा अघि बढाएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १३ गते मन्त्रिस्तरीय बैठक र भदौ १२ गते वरिष्ठ अधिकारीस्तरीय बैठक गर्ने तयारी गरेको जनाएको छ ।

सम्मेलनको तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ र गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, पारवहन तथा यातायात समिति गठन गरी आवश्यक कार्य अघि बढाइएको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । तयारी समितिहरुले छुट्टाछुट्टै बैठक बसी आ–आफ्नो जिम्मेवारी भित्रका तयारी अघि बढाएका छन् ।

सम्मेलनको तयारीकै लागि सारभूत विषय, समारोह, शिष्टाचार तथा साधन व्यवस्था, हवाई उड्डयन तथा संस्कृति, स्वास्थ्य, आयोजक र सुरक्षा तथा परिवहन व्यवस्थापन उपसमितिसमेत गठन गरिएका छन् ।

झण्डै बीस वर्षअघि स्थापना भएको बिम्स्टेकले सहयोगका १४ वटा क्षेत्र निर्धारण गरेर सदस्य राष्ट्रको चौतर्फी विकासमा योगदान पुरयाउँदै आएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवर्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो ।

नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका यसका सदस्य राष्ट्र हुन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । यसको सचिवालय सन् २०१४ मा बंगलादेशको ढाकामा स्थापना गरिएको हो ।

तयारीका लागि सरकारले सम्मेलनमा भाग लिनुहुने अतिविशिष्ट र विशिष्ट व्यक्तित्वका लागि सवारी साधनको व्यवस्थापन, खाने, बस्ने र सवारी सुविधासहितको स्वागतका व्यवस्थापनलगायत तयारीलाई अघि बढाएको छ ।

बिम्स्टेकका हालसम्म परराष्ट्र मन्त्रिस्तरीय १५ औं बैठक सम्पन्न भइसकेका छन् । १५ औँ बैठक ११ अगस्ट २०१७ मा काठमाडौँमा सम्पन्न भएको थियो ।

त्यस्तै वरिष्ठ अधिकारीस्तरीय १८ औं बैठक पनि सम्पन्न भइसकेका छन् । १७ औँ र १८ औँ बैठक क्रमशः फ्रेब्रुअरी र अगस्ट २०१७ मा काठमाडौँमा सम्पन्न भएका थिए । परराष्ट्र मन्त्रालयले बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताका लागि सबै सदस्य राष्ट्रका राष्ट्र प्रमुख-सरकार प्रमुखलाई निमन्त्रणा पठाइसकेको छ ।

बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भइसकेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री