सर्वेक्षण भन्छ-जलवायु परिवर्तनले चियाको स्वाद फेरियो

काठमाडौँ-विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, रामेछाप,भोजपुर, ललितपुर लगायतका जिल्लामा समेत विस्तार हुन पुगेको छ ।

नेपालका १४ जिल्लामा नौ हजार २४६ कृषक-व्यवसायीले चिया खेती गर्ने गरेका छन् । तीमध्ये नौ हजार १२७ जनाले व्यक्तिगत र १०८ जनाले संस्थागत रुपमा चिया खेतीमा संलग्न छन् । केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा संयुक्त रुपमा शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको नेपालमा व्यवसायीक चिया खेती सर्वेक्षण २०७५ मा सो तथ्याङ्क उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक २०७४ वैशाखदेखि चैतसम्ममा एकहजार १७५ नमूनामा सो सर्वेक्षण गरिएको थियो ।

ती कृषक-व्यवसायीले कूल १२ हजार ६६ हेक्टरमा चियाखेती गरी १० करोड ८० हजार मेट्रिक टन हरियो पत्ती उत्पादन गरेको छ । तीमध्ये सवैभन्दा बढी झापामा सात हजार १९५ र सबैभन्दा कम मोरङमा २५ हेक्टरमा चिया खेती गरेको पाईएको सर्वेक्षणमा उल्लेख छ । हरियो पत्ती चिया सबैभन्दा बढी झापामा आठ करोड २५ लाख १७ हजार मेट्रिक टन र सबैभन्दा कम भोजपुरमा एक दशमलव आठ मेट्रिक टन उत्पादन भएको जनाएको छ ।

सर्वेक्षणअनुसार कृषक-व्यवसायी गरी कूल ११ हजार ४१ वटा वगानमा चिया खेती गरेको छ । तीमध्ये सबैभन्दा बढी इलाममा ६ हजार ९९५ र सबैभन्दा कम सिन्धुपाल्चोकमा आठ वटा रहेका छन् । कृषक-व्यवसायी मध्ये चार प्रतिशतले मात्र व्यवसाय दर्ता गरी खेती गरेको र बाँकी ९६ प्रतिशतले दर्ता नै नगरी खेती गर्ने गरेको सो सर्वेक्षणले देखाएको छ । एक रोपनीभन्दामाथिको जमिनमा गरिएको चिया खेतीलाई व्यवसायिकरुपमा सर्वेक्षणले ओगटेको थियो ।

व्यवसायिक चिया खेती गर्ने कृषकले हरियोपत्ती चियाको बिक्रीबाट रु एक अर्ब ७४ करोड २२ लाख आम्दानी गरेको छ । साना कृषक नै यस व्यवसायमा संलग्न रहेको, ९५ प्रतिशतले आफ्नै जमिनमा खेती गरेको र करिव ३१ लाख अस्थायी कामदार यस काममा संलग्न रहेको सर्वेक्षणले देखाएको छ ।

जलवायु परिवर्तनले चियाको स्वाद फेरियो

सर्वेक्षणअनुसार ६२ प्रतिशतले जलवायु परिवर्तनका असर बारेमा कुनै जानकारी नभएको बताएका थिए । परिर्वतनका बारेमा जानकारी हुनेले जलवायु परिवर्तनले चियाका स्वाद फेरेको, उत्पादनमा ह्रास आएको, हरियोपत्ती टिप्ने समयमा परिवर्तन आएको, चियाको बोट समेत पुड्को भई आएको बताइएको छ ।

अर्कोतर्फ चिया व्यवसायीमध्ये ३२ प्रतिशतले मात्र आफ्नो व्यवसाय विस्तार गर्ने पक्षमा रहेका र बाँकीले यथास्थितिमा नै सञ्चालन गरिरहने जनाएका थिए ।

वि.स. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीनबाट फर्कदा चिनियाँ सम्राटबाट चियाको बीउ उपहार लिई नेपालमा चिया भित्रिएको बताइन्छ । अर्कोतर्फ गजराज सिंह थापाले इलाममा चिया रोपेर चिया खेतीको शुरुवात गरेको इतिहास पाइन्छ ।

सर्वेक्षणले चिया खेती १९२२ बाट शुरु भई २०५०-०६० को दशकमा सबैभन्दा बढी कृषक आकर्षित भएको देखाएको छ ।

चिया खेती एक हजार १०० मिटर उचाइदेखि दुई हजार १०० मिटर उचाइसम्म हुने गरेको पनि सर्वेक्षणले देखाएको छ । चिया खेती गर्नेमध्ये ५९ प्रतिशत परम्परागतरुपमा आठ हजार ८३८ हेक्टर चिया खेती गर्ने गरेको, ३० प्रतिशतले प्राङ्गारिक उन्मुख अर्थात २ हजार १२९ र ११ प्रतिशत अर्थात् एक हजार एकसयले मात्र प्राङगारिक चिया खेती गरेको सो सर्वेक्षणले देखाएको छ ।

चिया खेती गर्ने कृषकलाई चिया नीतिका बारेमा नै जानकारी छैन

सर्वेक्षणमा सहभागी भएका कृषकले आफूलाई राष्ट्रिय चिया नीति २०५९ का बारेमा जानकारी नभएको बताएका थिए । उनीहरूले आफूले बैंकभन्दा सहकारीबाट ऋण लिने गरेको, चियामा रोग किराको प्रकोप लाग्दा सरकारीभन्दा निजी क्षेत्रबाट सहयोग पाएको बताएका थिए ।

कृषकले हरियो चियापत्तीको उचित मूल्य निर्धारण गर्न, बिक्रीका लागि उचित बजारको व्यवस्था गर्न, चियाको विरुवा, मलखाद, मेसिन आदिमा अनुदान दिन र सिँचाइको प्रभावकारी व्यवस्थापन मिलाउन सर्वेक्षणमार्फत सुझाव दिएको छ ।

विश्वका ६२ देशमा मात्र चिया खेती हुने गर्दछ । तीमध्ये नेपाल पनि एक हो । उत्पादन र खपतका दृष्टिकोणले सबैभन्दा बढी चीन र भारत ठूला देशमा पर्दछन् । चिया खानेमा सबैभन्दा बढी बेलायत र रुस पर्दछ । नेपालमा उत्पादन हुने चियामध्ये ७० प्रतिशत विदेशमा निर्यात हुने गर्दछ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले सर्वेक्षण सार्वजनिक गर्दै चिया विकास तथा प्रवर्धनमा सर्वेक्षणले ठूलो सहयोग पुरयाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री