रत्न आश्रमका लागि लन्डनमा च्यारिटी

लण्डन । झापाको दमकमा सञ्चालित रत्न आश्रमका लागि कोष जुटाउने उद्देश्यले शुक्रबार लन्डनमा एक च्यारिटी कार्यक्रम गरिएको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा कार्यक्रम भएको हो । उक्त कार्यक्रमबाट आश्रमका लागि करिब २७ सय पाउण्ड संकलन भएको आयोजकले जनाएका छन् ।

टिकट विक्री तथा स्पोन्सरबाट झण्डै ४ हजार पाउण्ड संकलन भएको र खर्च कटाएर २७ सय ३१ पाउण्ड वचत भएको कार्यक्रम संयोजक तथा आश्रम सञ्चालिका मन सुनुवार आलेले जानकारी दिइन् ।

डेढ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा पहिलो नेपाली तारा गायक दिपक लिम्बुको विशेष प्रस्तुति रहयो । पहिलो नेपाली तारा गायक लिम्बुले मुटु माग्यौ तिमीले, मैलै माया गर्न जानिन, आंखा आंखा लगायतका आफ्ना आधा दर्जन बढि हिट गीत सुनाए । गायिका शर्मिला बर्देवाले पनि केही गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराइन् । केहि स्थानीय कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले रत्न आश्रम असहाय बृद्धबृद्धाहरुको सहारा बन्न सफल भएको भन्दै यसका सञ्चालकहरुको पवित्र कार्यप्रतिको समर्पण प्रशंसनीय रहेको बताए । सामाजिक कामका लागि सधैं ठूलो रकम नै दान गर्नुपर्छ भन्ने नहुने भन्दै अध्यक्ष फगामीले खुशी र सफा मनबाट गरिएको जुनसुकै सहयोग पनि समाजका लागि महत्वपूर्ण हुने धारणा 
राखे ।

आश्रमकी सञ्चालिका तथा कार्यक्रमकी सभापति मन सुनुवार आलेले असहाय बृद्धबृद्धाका लागि सकेको सहयोग गर्ने उद्देश्यले आफ्नै परिवारको सहयोगमा आश्रम स्थापना र सञ्चालन गर्न सफल भएको बताइन् । आश्रममा आश्रय खोज्नेहरुको संख्या बढ्दै जांदा यसको व्यवस्थापनका लागि आर्थिक अभाव भएपछि कोष संकलनका लागि कार्यक्रम गरिएको उनले जनाइन् ।

कार्यक्रममा पारिका आलेले रत्न आश्रमको स्थापना, सञ्चालन र यसको अवस्थाबारे विस्तृत जानकारीमुलक प्रिजेन्टेसन दिएकी थिइन् ।

बेलायतमा नर्सका रुपमा कार्यरत सुनुवारको पहल र उनको परिवारको सहयोगमा सन् २०१५ मा स्थापित रत्न आश्रममा अहिलेसम्म २ दर्जन बढि बृद्धबद्धाले सहारा पाइसकेका छन् । नेपालमा च्यारिटीका रुपमा दर्ता भइसकेको संस्थालाई बेलायतमा समेत च्यारिटीमा दर्ता गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म नेपालको सरकार तथा अन्य कुनै दातृ संस्थाहरुबाट कुनै सहयोग नपाएको रत्न आश्रम बेलायतस्थित सुनुवार परिवार र उनीहरुको आग्रहमा आफन्त, साथीभाइहरुले गरिरहेको सहयोगमा सञ्चालन हुंदै आएको छ ।

च्यारिटी कार्यक्रमको आयोजना उमेशराज मोक्तान, रस्मिता दर्लामी, सुशिला कार्की, शशी थापा सुब्बा लगायतको सहयोगमा गरिएको थियो ।

कार्यक्रममा रस्मिता दर्लामीले स्वागत मन्तव्य दिंदै नेपालमा रहेका असहाय बृद्धबृद्धाका लागि सक्दो सहयोग गरिदिन आव्हान गरेकी थिइन् । कार्यक्रमको पहिलो सत्र शशी थापा सुब्बा रदोश्रो सत्र लक्ष्मी राई लाराले सञ्चालन गरेका थिए ।

त्यसअवसरमा शशी थापा सुब्बाको परिकल्पना र निर्देशनमा रस्मिता दर्लामी, पारिका आले र सुशिला कार्कीको अभिनयमा एक नाटक प्रस्तुत गरियो । बेसहारा बृद्धबृद्धाको सहयोगका लागि सन्देश दिने उक्त नाटक कार्यक्रमका सहभागीहरुले खुबै रुचाए ।

कार्यक्रममा रस्मिता दर्लामी, पारिका आले, सुस्मिता थापाका साथै मिर्फुंग युथ क्लब, वेम्लीका कलाकारहरुले समेत आकर्षक नृत्य देखाए ।

कार्यक्रममा काउन्सिलर भगवानजी चौहान, एनआरएनए यूके महासचिव आरके त्रिपाठी, व्यवसायीहरु मिन दर्लामी, नर्सहरु बासु लामिछाने, प्रसुना कंडेल, विनोदविकास सिंखडा लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

गायक दीपक लिम्बु

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री