‘लिलीबिली’ अल्डरसटमा २२ जुलाइमा देखाइने

लन्डन । यूके र युरोपमा छायांकन गरि नेपालमा ५१ औं दिन मनाउन सफल चलचित्र ‘लिलीबिली’ बेलायतमा प्रदर्शन गरिने भएको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले आगामी २२ जुलाई आइतबार सांझ ६ बजे एम्पायर हल अल्डरसटमा उक्त फिल्मको रेड कार्पेट शो गर्न लागेको हो ।

शोमा बेलायतमै बस्ने ‘लिलीबिली’ की मुख्य नायिका जसिता गुरुङको विशेष उपस्थिति हुने जनाइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्ममा प्रदीप खड्का, जसिता, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स् लगायतका कलाकारको अभिनय छ । यूकेको स्कटल्याण्डसहित अन्य शहरमा करिब ९० प्रतिशत छायांकन गरिएको उक्त फिल्ममा टर्कीका दृश्य समेत छ । लिलीबिलीको स्कटल्याण्डमा खिचिएको ‘घुम्न जाउं है इन्जिन गाडीमा…’ बोलको गीत र भिडियो खुबै चर्चित छ । (लिंक तल छ)

जसिता गुरुङ ‘यूके डान्स अफ २०१७’ की विजेता हुन् जुन प्रतियोगिता सपन इन्टरटेन्मेन्ट लिमिटेडले गर्दै आएको छ । जसिता आफ्नो ‘प्रोडक्ट’ भएर पनि सपन राईले उक्त फिल्म यहां प्रदर्शन गर्न लागेका हुन् । ‘नेपाली चलचित्रको बजार प्रवर्धन तथा विकास गर्ने उद्देश्य पनि हो’- फिल्म प्रदर्शनबारे सपनले भने, ‘अढाइ दशकदेखि मैले बेलायतमा विभिन्न कलाकार झिकाएर सांस्कृतिक कार्यक्रम देखि फिल्म शो निरन्तर गर्दै आएको छु । उत्कृष्ट चलचित्र बेलायतका नेपाली दर्शकले पनि समयमै हेर्न पाउन् भन्ने मेरो इच्छा छ ।’

सपनले कृ, ड्रिम्स लगायत कयौं हिट फिल्म बेलायतमा देखाइसकेका छन् । ‘लिलीबिली’ प्रदर्शनपछि सपन ‘यूके डान्स अफ-२०१८’ र तीज विशेष कार्यक्रम गर्ने योजनामा छन् ।

‘लिलीबिली’ का निर्देशक बेलायतवासी मिलन चाम्स पछिल्लो पटक व्यस्त निर्देशकका रुपमा चिनिएका छन् । उनको यसअघिको चलचित्र ‘हयाप्पी डेज’ शतप्रतिशत बेलायतमै छायांकन भएको थियो । मिलनका ब्लाइण्ड रक्स, बोबी, वीर विक्रम लगायत फिल्मले पनि सफलता चुमेका छन् ।

चाम्सले अहिलेका नम्बर वान नायक अनमोल केसीलाई मुख्य भूमिका दिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री