रेडिङमा कविता प्रतियोगिताका साथ भानु जयन्ती

लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनले कविता प्रतियोगितासहित २०५ औं भानु जयन्ती मनाएको छ । जुलाई १४ तारिखका दिन कविता वाचन तथा कबिता प्रतियोगिताका साथ कार्यक्रम भएको हो । उक्त संस्थाले सन् २०१५ देखि नियमित रुपमा भानु जयन्ती मनाउन शुरु गरि यसलाई आफ्नो वार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कविता प्रतियोगिताको रुपमा मनाउंदै आएको छ । एसोसिएसनले सन् २०१६ मा गैर आवासीय नेपाली संघ बेलायतको भाषा साहित्य विभागसंग सहकार्य गर्दै जयन्ती मनाएको थियो भने गत वर्ष साहित्य संगम यूकेसंग सहकार्य गर्दै संयुक्त रुपमा मनाइएको थियो । यस वर्ष पनि कम्युनिटी र साहित्य संगम यूकेले संयुक्त रुपमा भानु जयन्ती मनाएका हुन् ।

भानुभक्तको तस्विरमा माल्यार्पण गरी शुरुवात गरिएको उक्त कार्यक्रमको सभापतित्व रेडिङ नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि श्रष्टा, गीतकार तथा संगीतकार किरण प्रधान थिए ।

कार्यक्रमको शुरुमा रेडिङ नेपाली समाजका अध्यक्ष न्यैपानेले उपस्थित सबैलाई स्वागत गरे भने साहित्य संगम युकेका 
संस्थापक अध्यक्ष विनोद अधिकारीले बेलायतमा नेपाली भाषा साहित्यप्रतिको अभिरुचि र यसतर्फ बढ्दै गरेको मोह तथा रेडिङ नेपाली समाज र साहित्य संगम युके को सहकार्यबारे बताउंदै नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा पारे । प्रमुख अतिथी गीतकार किरण प्रधानले आफ्नो अक्षर अभियानका बारेमा प्रकास पार्दै गीत संगीत, कला र भाषा साहित्यप्रति बेलायतबासी नेपालीहरुको लगाव र योगदानको कदर गरे । उनले यस्ता किसिमका कार्यक्रममा सहभागी हुन पाउंदा आँफूलाई ज्यादै खुसी लागेको समेत बताए ।

कार्यक्रमको पहिलो चरणमा रेडिङ नेपाली समाजका सदस्यद्वय डा. प्रवीण दाहाल र डा. बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष न्यौपानेले फुलको गुच्छा र शुभकामना सन्देशका साथ सम्मान गरे । उनीहरु दुबैले हालै मात्र दुई छुट्टा छुट्टै विश्वविद्यालयबाट विद्यावारिधि हांसिल गरेका थिए ।

कार्यक्रमको मध्य भागमा १८ वर्ष मुनी र १८ वर्ष माथिको छुट्टा छुट्टै समूहमा कविता प्रतियोगिता गरिएको थियो । कबिता मूल्यांकनका लागी गैर आबासीय नेपाली संघ युकेका भाषा साहित्य विभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाउंलेको नेतृत्वमा दुई सदस्यीय समिति बनाइएको थियो जसमा उनलाई स्थानीय साहित्यकार डा. प्रवीण दाहालले साथ दिएका थिए ।

प्रतियोगितात्मक कविता बाचन कार्यक्रम लगत्तै अप्रतियोगितात्मक कबिताहरु पनि वाचन गरिए । कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्त सम्बन्धि सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

कविता प्रतियोगितामा लक्ष्मी पौडेल, निर्मला न्यौपाने, लाल बहादुर गुरुङ, प्रतिमा दुधराज, भरत पौड्याल, एलेक्स सापकोटा, ऋसब न्यौपाने, आध्या भट्टराई र केनिशा गौतमले भाग लिएका थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगी कविता पनि वाचन गरिएका थिए जसमा त्रिलोचन गौतम, बलदेब भट्ट, प्रतिमा दुधराज, लक्ष्मी पौड्याल, प्रमुख अतिथि किरण प्रधान, सभापति कृष्ण न्यौपाने, साहित्य संगम युके संस्थापक बिनोद अधिकारी, निर्णायक मण्डलीको तर्फबाट नारायण गाउंले र संयोजक ओमकार अधिकारीले पनि आआफ्ना कविता वाचन गरेका थिए ।

कविता वाचनकै क्रममा गैर आबासीय नेपाली संघ युकेका भाषा साहित्य विभाग प्रमुख गांउलेले कविता मूल्यांकन गर्ने काम एक चुनौतीपूर्ण भएको र एकजनालाई अति राम्रो लागेको कविता अर्कोलाई सामान्य पनि लाग्न सक्ने भन्दै यसमा कुनै वैज्ञानिक मापनयन्त्र नभएको हुंदा नतिजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी सुम्पेकोमा आयोजक संस्थालाई धन्यवाद दिए ।

कार्यक्रमको अर्को चरणमा निर्णायक मण्डलबाट प्राप्त नतिजा कार्यक्रम संचालक ओमकार अधिकारीले सुनाएका थिए । प्रतियोगितामा १८ वर्ष मुनीको समूहमा केनिशा गौतम प्रथम, आध्या भट्टराई दोस्रो, एलेक्स सापकोटा तृतीय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

त्यस्तै १८ वर्ष माथिको समूहमा भरत पौड्याल प्रथम, प्रतिमा दुधराज दोस्रो र लालबहादुर गुरुङले तेस्रो स्थान प्राप्त गरे । लक्ष्मी पौडेल र निर्मला न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरे । रेडिङ नेपाली समाजका पूर्ब अध्यक्षद्वय अर्जुन बस्नेत तथा मान बहादुर गुरुङ, कार्यक्रमका प्रमुख अतिथि किरण प्रधान, सभापति न्यौपाने र सह आयोजकको तर्फबाट बिनोद अधिकारी तथा निर्णायक मण्डलको तर्फबाट नारायण गाउंलेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा भाग लिने सबैको लागि प्रसंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका दुबै समूहका प्रतियोगीहरुको लागि सुनौला ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री