बेलायतका लिम्वुहरुले मनाए मौलिक पर्व सिसेक्पा तङनाम

लन्डन । बेलायतमा रहेका लिम्वुहरुले आफ्नो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने संक्रान्ति भव्य रुपमा मनाएका छन् । गत शनिबार फेल्थाम कम्युनिटी कलेज प्राङगणमा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा उनीहरुले आफ्नो मौलिक पर्व मनाउने अवसर पाएका हुन् ।

सोही अवसरमा उनीहरुले चुम्लुङदेन अर्थात आफनै जग्गा खरिद गरेको उपलक्ष्यमा केक काटेर खुशीयाली पनि मनाएका थिए । चुम्लुङले बिगत लामो समय देखि गरेको प्रयासको फलस्वरुप भर्खरै बेलायतको मेडिस्टोन एरियामा २५.३३ एकर क्षेत्रफलको जग्गा खरिद गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रमुख आतिथिको रुपमा बोल्दै आफ्नो संस्कार र संस्कृति, भेषभुषा, खानपिनलाई नबिर्सी नेपालकै माटोमा उभिए जस्तो एउटै बाटोमा लोली र बोली मिलाएर हिंडिरहेको जस्तो देख्दा आफूलाई हर्षविभोर र गर्व भएको बताए । उनले लिम्वुवानको प्रसंग जोड्दै जुनसुकै ठाउंको भएपनि विदेशमा आएपछि सबै नेपाली भएको बताउंदै आफ्नो संस्कृति, भाषा र सभ्यतालाई जोगाउंदै बेलायतमा समेत सानो नेपाल बनाउन आग्रह गरे ।

बिशिष्ट अतिथिको रुपमा रहेका संघीय लोकतान्त्रिक मन्चका अध्यक्ष कुमार लिङदेन मिराकले चुम्लुङ युकेले जग्गा खरिद गरेको उपलक्ष्यमा हार्दिक बधाई दिंदै यसले बेलायतमा लिम्वुहरु सधैंका लागि स्थापित भए भन्ने प्रमाणित गरेको बताए ।

चुम्लुङ युकेका अध्यक्ष दिलसिं मेन्याङवोको अध्यक्षतामा भएको सो कार्यक्रममा सिसेक्पा तुङनाम कार्यक्रमका संयोजक नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य दिएका थिए । महासचिव गणेश इजम र सचिव विश्वासदीप तिगेलाले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा बेलायतमा बसेर लामो समय देखि याक्थुङ कला र संस्कृतिमा निरन्तर सेवा गरिरहेका कलाकार पदम सम्वाहाङफेलाई यो वर्षको ’आर्टिष्ट अफ द इयर’ ले सम्मान गरियो भने चुम्लुङको क्रियाकलापमा उत्कृष्ठ सहभागिताका लागि पूर्व महासचिव खगेन्द्र लावतीलाई चुम्लुङ अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरि चुम्लुङले हरेक वर्ष आयोजना गर्ने यलम्वरहाङ कप फुटवल प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने यलम्वरहाङ अवार्ड भने ग्रेटर लन्डन शाखाका पूर्व अध्यक्ष चिरेन्द्र लावुङलाई प्रदान गरिएको छ ।

सोही कार्यक्रममा लिम्वुवान नागरिक समाज युके र किरात याक्थुङ चुक्लुङ युकेले संयुक्त रुपमा लण्डनस्थित नेपाली राजदूत डा. सुवेदीमार्फत नेपाल सरकारसमक्ष एक ज्ञापनपत्र बुझाएका छन् ।

समाजका अध्यक्ष नरेन्द्र मावोहाङ र चुम्लुङका अध्यक्ष दिलसिं मेन्याङवोले हस्ताक्षर गरेको सो ज्ञापनपत्रमा नेपालको प्रदेश नम्वर १ को नामांकनको सवालमा अरुण सप्तकोशी पूर्वको भूभागलाई लिम्वुवान प्रदेश नामांकन गरियोस् भनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश प्रमुख गोविन्द लिम्वु र मुख्य मन्त्री शेरधन राईलाई ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा राजदूत पत्नी तथा नेपलिज वुमेन असोसिएसन युकेकी संरक्षक पुनम राज्य लक्ष्मी सुवेदीलाई महिलाहरुको अभिभावकको रुपमा सम्मान पनि गरिएको थियो । केवाइसी थामेन्दिङमा समितिकी अध्यक्ष नेत्रकला लिम्वु यमाले लिम्वु ढाका ओढाएर श्रीमति सुवेदीलाई स्वागत तथा सम्मान गरेकी थिइन् ।

सोही कार्यक्रममा कलाकार युवराज इस्पो र इन्द्र पन्धाकको संयुक्त एल्बम ‘पच्चीस वसन्त’ को विमोचन पनि गरियो । प्रमुख अतिथि राजदूत सुवेदी, विशिष्ट अतिथि कुमार लिङदेन, अध्यक्ष दिलसिं मेन्याङवो, कलाकार दिपक लिम्वु र तारा लक्समले संयुक्त रुपमा सिडी विमोचन गर्दै कलाकारद्धयको वैवाहिक जीवनले २५ वर्ष पुरा गरेको उपलक्ष्यमा निकालिएको एल्वम सफलताको वधाई पनि दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकार वर्विन शेर्मा, दिपक लिम्वु र तारा लक्समलाई सम्मान गरिएको थियो । त्यसैगरि यो वर्ष उच्च शिक्षा हांसिल तथा विभिन्न उपलव्धि पाउन सफल व्याक्तित्वहरुलाई सम्मान र प्रशंसापत्र प्रदान गरियो ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम विभाग प्रमुख डम्वर सावा र सहसचिव सानु सुव्वाले सञ्चालन गरेका थिए । अन्तरशाखा यालाङ र केलाङ प्रतियोगितामा युवा पुस्ताको सहभागिता विशेष आकर्षण बनेको थियो । केवाइसी ग्रेटर लण्डन सिनियर शाखाको टोलीले यो वर्षको केलाङ अवार्ड जित्यो । सो टोलीमा अठार वर्ष मुनीका नानीहरुको सहभागिता थियो ।

त्यसैगरि यालाङमा भने केवाइसी ग्रेटर लण्डन शाखा विजयी भएको थियो । कार्यक्रममा आएका लिम्वु लिम्वुनीहरु मध्येबाट आफ्नो भेषभुषामा सजिएका युथबाट ज्यासन नेम्वाङ र वयस्कबाट इन्द्र फोम्वो र ध्रुवकुमारी लिम्वुले वेष्ट कल्चरल ड्रेसको अवार्ड पाउन सफल भए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु वर्विन शेर्मा, तारा लक्सम, दिपक लिम्वुको साथमा स्थानिय कलाकारहरु सुवर्ण नेम्वाङ, इन्द्र पन्धाक, रिता फोम्वो, भक्ति आङदेम्वे, सुनिता थेवे लगायत अन्य कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो जातिय पोसाक र गरगहनामा सजिएर बेलायतभरीका करिब चार हजार वढि लिम्वु जातीको सहभागिता रहेको आयोजकको दावी छ । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष जंग सुनुवार, एनआरएनए युके उपाध्यक्ष शुसिला राई, किरात राई यायोख्खा यूकेका उपाध्यक्षका सुमनचन्द्र राई, किरात सुनुवार सेवा समाज यूकेका अध्यक्ष यादव सुनुवार, तमुधिं युकेका उपाध्यक्ष नन्दजंग गुरुङ, किरात याख्खा छुम्माका अध्यक्ष धन रोगु, पांचथर समाज युकेका अध्यक्ष चन्द्र सुन्दास, तेह्रथुम समाजका अध्यक्ष सूर्य खापुङ, फोनिजकी अध्यक्ष प्रमिला लावुङ राई, नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष दिनेशकुमार परियार लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता थियो ।

सिसेक्पा तङनाम अर्थात साउने संक्रान्तिलाई असारको हिलो मैलोबाट लाग्ने लुतो फाल्ने चाडको रुपमा मनाइन्छ भने अनिकाल सकिएर सहकालको समय सुरु भएको प्रतिकको रुपमा समेत लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री