डा केसीको जीवन रक्षाको माग गर्दै नेविसंघको प्रदर्शन, १० भन्दा बढी घाइते

काठमाडौँ- नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म रयालीसमेत निकालेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसविरुद्धमा नेविसंघले विरोध प्रदर्शन गरेको बताए ।

नेविसंघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।

यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नयाँ शक्ति नेपालकी नेत्री हिसीला यमीले सरकार महँगी र भ्रष्टाचारमा लागेको आरोप लगाइन् । सरकारले दुईतिहाइको आडमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री